
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर कात्तिक १४ देखि मंसिर ८ गतेसम्म खुला रहने भएको छ । कम्पनीले साविकका सेयरधनीलाई १ शेयर बराबर नयाँ ०.४७ अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
पहिला हकप्रद सेयर भर्ने समय ३५ दिनको हुने थियो । तर धितोपत्र बोर्डले अहिले हकप्रद सेयर भर्ने २१ दिन खुला राख्ने व्यवस्था गरेअनुसार कम्पनीले हकप्रद सेयर भर्न २१ दिनको समय दिएको हो ।
यस आयोजना निर्माणका लागि जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कम्पनीले कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम रु. २२२ करोड आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना गरेको छ ।
बाँकी ७० प्रतिशतले हुने रकम रु. ५१८ करोड हिमालयन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंक सहभागी गरी आयोजनाको सह–वित्तियकरणमा कर्जा लगानी गर्ने सम्झौता भएको छ ।
हाल चुक्तापूँजी ११९ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको आ.व. २०७६÷०७७ को व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तिय विवरण अनुरुप कम्पनीको जम्मा नेटवर्थ १३६ करोड रहेको, जगेडा कोष तथा संचित नाफामा रु. १७ करोड रहेको र प्रति शेयर आम्दानी रु. ८.०४ रहेको छ ।
अपिले यसअघि दार्चुलामा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र सोही नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत गरी सञ्चालन गरिरहेको छ ।