सेयर बजारमा करिब ५ अर्बको कारोबार, नयाँ पैसा आयो २ करोड मात्रै

<p>काठमाडौं । सेयर बजारमा पछिल्लो समय उत्साह देखिएको छ । दैनिक ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ । बिहीबार (आज) सेयर बजारमा झण्डै ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज ४ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आजको [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा पछिल्लो समय उत्साह देखिएको छ । दैनिक ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ ।

बिहीबार (आज) सेयर बजारमा झण्डै ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज ४ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार पनि नयाँ रकम थप लगानी खासै नभएको ब्रोकरहरु बताउँछन् । सेयर बजार बढ्दो क्रममा रहेको बेलामा कारोबारी (केही रकम फाइदा हुने वित्तिकै बेच्ने र फेरि किनिहाल्ने) व्यक्तिहरु हावी हुने भएकोले लगानीकर्ता (लामो समयको लागि सेयर किन्ने व्यक्तिहरु) खासै नआउने एक ब्रोकरले बताए ।

‘बजार बढ्दो क्रममा रहेको बेलामा कारोबारी सक्रिय हुन्छन्, घट्दो बजारमा लगानीकर्ताको चहलपहल बढी हुन्छ, कारोबारीले आफूले किनेको सेयरमा केही फाइदा आउने वित्तिकै बेचिरहेका हुन्छन् भने त्यही पैसाले अर्काे कम्पनीको सस्तो सेयर खोजिरहेका हुन्छन्, त्यसैले कारोबार रकम धेरै देखिए पनि थप रकम भने आइरहेको हुँदैन,’ एक ब्रोकरले भने ।

मध्यम तथा ठूला लगानीकर्ताले पनि खासै थप लगानी नगरी सेयर खरिद विक्री गर्ने गर्छन् ।

‘मैले अहिले ६ करोड रुपैयाँको सेयर किने भने सोही परिमाणको अर्काे कुनै कम्पनीको सेयर बेचेर किन्ने हो, लामो समयसम्म कुन कम्पनीको सेयर राख्दा फाइदा होला भन्ने मेरो अनुमान अनुसार नै मैले सेयर थप गर्न वा घटाउने हो, अहिले ६ करोड रुपैयाँको सेयर किनेँ भने मैले बढीमा ८/१० लाख रुपैयाँ थप लगानी गर्छु, सेयर बजारमा निश्चित रकम लगानी गरेपछि त्यही रकमबाट खेल्ने हो, सेयर बेचेर पैसा घर लाने वा झोलामा पैसा बोकेर सेयर किन्न जाने होइन,’ एक लगानीकर्ताले भने ।

अर्का एक ब्रोकरले भने अहिले साधारण सेयर (आइपीओ) भर्दा १० कित्ता पर्नेहरु बेच्न र त्यही पैसाले सस्तो सेयर खरिद गर्न चाहनेहरु सक्रिय भएका बताए । ती ब्रोकरले एक दिनमा सेयर बजारमा जति रकम बराबरको सेयर किनिएको हुन्छ, त्यसको १ देखि २ प्रतिशत मात्रै थप रकम आउने गरेको बताए । आजको २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर खरिद हुँदा बढीमा २ करोड रुपैयाँ बजारमा थप आएको हुन सक्ने उनको अनुमान छ ।

नेप्से मालामाल, कामै नगरी पैसा पाउँछ सेबोनले

सेयरको कारोबार हुने वित्तिकै लाभ मात्रैको हिस्सेदार भनेको नेप्से, पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र ब्रोकर हुन् । सेयर कारोबारमा प्रतिकारोबार तथा रकमका आधारमा तोकिएको कमिसन नेप्से, धितोपत्र बोर्ड (सेबोन), ब्रोकर, सीडीएसी जस्ता निकायले तोकिए अनुसार लिने गर्छन् ।

अहिलेको व्यवस्था अनुसार सेयर खरिद विक्रीमा कारोबार रकमका आधारमा ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन दिनुपर्छ । यस्तो कमिसनको २० प्रतिशत नेप्सेले तथा ०.०१५ प्रतिशत सेबोनले लिन्छन् । सेयर कारोबारको औषत कमिसन ०.५५ प्रतिशत हुने सरोकारवाला बताउँछन् ।

अझै नोक्सानीमा लगानीकर्ता

विगत लामो समयदेखि खस्केको सेयर बजार पछिल्ला केही दिनमा बढेर १७ सय १८ विन्दु पार गरेको छ । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसुचक १८ सय ८१.४५ विन्दुमा पुगेको थियो ।

परिसुचक पहिलाको विन्दुमा नै पुगेकोले लगानीकर्ता अब फाइदामा जान सक्ने चर्चा पनि सुरु भएको छ । तर, यसबीचमा थप भएको सेयर भने गणना नगरी चर्चा गर्दा यस्तो निष्कर्ष निकालिएको हो ।

थप भएको सेयर लगानी र बजार पुँजीकरणले परिसुचक माथि लान सहयोग गर्छ । यसअघिको उच्चतम विन्दु १८ सय ८१ विन्दुमा पुगेपछि थप भएका नेपाल पुनर्बीमा कम्पनीको ९० अर्ब, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ३० अर्ब, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को २० अर्ब थप बजार पुँजीकरणको हिसाव गर्दा त्यो बेलाको जति मूल्य प्राप्त गर्न परिसुचक अझै निकै बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । यस्तै, अन्य कम्पनी पनि नेप्सेमा थप सुचिकृत भएका छन् भने पुराना कम्पनीले जारी गरेको हकप्रद तथा बोनस सेयरले पनि परिसुचक बढाउन सहयोग गरेको छ ।

Share News