काठमाडाैं । माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको आईपीओको आज बुधबार (मंसिर १७ गते) बाँडफाँड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार उक्त सेयरको बाँडफाँड आज बिहान १० बजे सेयर डिल्लीबजारस्थित माउन्टेन इनर्जीको कार्यालयमा भएकाे हाे ।
यससँगै बिक्री प्रबन्धक क्यापिटलका अनुसार याेग्य आवेदकमध्ये १ लाख ८३ हजार २६ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । र, बाँकी ४ लाख ६८ हजार ५४९ जना आवेदकको भने हात खाली भएको छ ।
कम्पनीको आईपीओमा ६ लाख ५३ हजार २ सय ९१ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १७ सय १६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । बाँकी ६ लाख ५१ हजार ५७५ जना योग्य आवेदक मध्ये १ लाख ८३ हजार २६ जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका हुन् ।
त्यस्तै गोलाप्रथाबाट बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता सेयर थप ५ जना आवेदकलाई एक एक कित्ताको दरले बाँडफाँड गरिएको छ । उक्त सेयर न्युनतम २० कित्ताभन्दा बढी आवेदन गरेका भाग्यमानी ५ जना आवेदकले पाएका छन् ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन खुला गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको कम्पनीले जानकारी गराएको छ । यससँगै, बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि कूल १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो ।