काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षामा सेयरकर्जामा पुनरावलोकन गर्ने भनेसँगै लगानीकर्ताहरुले असन्तु्ष्टि व्यक्त गरेका छन् । सेयर बजार बढेकै समयमा लगानीकर्ताको मनोवल घट्ने किसिमले राष्ट्र बैंकले सेयर कर्जामा पुनरावलोकन गर्ने भनेपछि लगानीकर्ताहरु असन्तुष्ट भएका हुन् ।
लगानीकर्ता संघ संघठन नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाव समुह सम्बद्ध लगानीकर्ताले आइबार राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्र बैंकसामु प्रश्नै प्रश्न खडा गरेका हुन् । उनीहरूले बजारमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता कसरी पर्न गयो भन्दै राष्ट्र बैंकलाई प्रश्न गरेका छन् ।
लगानीकर्ता, नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता सरोकारवाला पक्ष बिचको बारम्बारको छलफलको निचोडको रूपमा कार्यान्वयनमा आएको ७० प्रतिशत मार्जिन कर्जालाई एक्कासी परिवर्तन गर्न खोज्नु भनेको पुँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं नै लागि परेको लगानीकर्ताको आरोप रहेको छ ।
ज्ञापन पत्रमार्फत उनीहरुले मार्जिन कर्जा पुनरावलोकन गर्ने सम्बन्धी बुँदा तुरुन्त फिर्ता गर्न माग गरेका छन् । साना लगानीकर्ताको सेयर बजारमा भएको नयाँ प्रवेशलाई निरन्तरता दिन, पुँजीबजारका लगानीकताहरुको लगानीको पनि सुरक्षा गर्न मौद्रिक नीति फेरबदल गर्न नहुने उनीहरुको भनाई छ ।
राष्ट्र बैंक जस्तो गरिमामय संस्थाले आफ्नो नीति ३ महिना पनि टिकाउन नसक्नु भनेको यस संस्था प्रति नेपाली जनताका संग संगै विश्व जगतले समेत हेर्ने दृष्टिकोण नकारात्मक हुन गै नेपाल राष्ट्रकै बेइज्जत हुने कुरामा दुई मत नहुने लगानीकर्ता बताउँछन् ।
यस्ताे छ ज्ञापनपत्र
