मौद्रिक नीतिको समीक्षाले तर्साएको सेयर बजारलाई कडाई गर्ने ‘स्पेस’ कति छ राष्ट्र बैंकसँग ?

<p>काठमाडौंं । गत आइतवार पुँजी बजार मापक नेप्से परिसुचक ६ प्रतिशत (१२३ अंक) ले घटेपछि सो दिनको कारोबार बन्द भयो । त्यसको २ दिन अघि आएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर बजारलाई तर्साएको थियो । मौद्रिक नीतिको समीक्षामार्फत ओभर ड्राफ्ट र सेयरधितो कर्जाको विद्यमान व्यवस्था परिवर्तन गर्ने राष्ट्र बैंकले जनाएको थियो । राष्ट्र बैंकले [&hellip;]</p>

काठमाडौंं । गत आइतवार पुँजी बजार मापक नेप्से परिसुचक ६ प्रतिशत (१२३ अंक) ले घटेपछि सो दिनको कारोबार बन्द भयो । त्यसको २ दिन अघि आएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर बजारलाई तर्साएको थियो ।

मौद्रिक नीतिको समीक्षामार्फत ओभर ड्राफ्ट र सेयरधितो कर्जाको विद्यमान व्यवस्था परिवर्तन गर्ने राष्ट्र बैंकले जनाएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्था ‘पुनरावलोकन’ शब्दसँग सेयर बजार तर्सिएको थियो ।

राष्ट्र बैंकले ओभर ड्राफ्ट (ओडी) र सेयरधितो कर्जाको विद्यमान व्यवस्थामा ‘पुनरावलोकन’ गर्ने भने पनि के कस्तो पुनरावलोकन हुन लागेको हो भन्ने कुनै स्पष्ट पारेको छैन । तर, आइतबार सेयर बजारमा पहिरो गएको थियो । यद्यपि, सोमवार र मंगलबार (यो समाचार तयार पार्दासम्म) सेयर बजार बढेको छ ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल ओडी र सेयरधितो कर्जामा के कस्तो नयाँ व्यवस्था हुने भन्ने बारेमा अझै यकिन नभएको बताउँछन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको बेलामा बजारमा २ खर्ब रुपैयाँ अधिकत तरलता भएपनि अहिले सो रकम घटेर १ खर्ब ४४ अर्ब रुपैयाँमा कायम भएको बताए ।

‘मौद्रिक नीति सार्वजनिक गर्दा यो वर्ष कर्जा प्रवाह २० प्रतिशतले बढ्ने अनुमान गरिएको थियो, गत असोज समान्तसम्मको तथ्यांकले कर्जा प्रवाह १२.४ प्रतिशतले मात्रै बढेको देखाएको छ, गएको कर्जा पनि सेयर, घरजग्गा जस्ता क्षेत्रमा बढी हुनु हुँदैन भनेर नियामक निकायले आवश्यक चासो देखाउँछ, आइतबार सेयर बजार नियामक निकायको त्यही ‘रेगुलेटरी कन्सर्न’को कारण तर्सिए जस्तो देखिन्थ्यो, नयाँ नीतिगत व्यवस्था के हुने भन्ने प्रष्ट भएको थिएन, अझै भएको छैन,’ पोखरेलले विकासन्युजसँग भने ।

उनले सेयर बजारमा जाने कर्जाको विषयमा राष्ट्र बैंकसँग २ वटा मात्रै विकल्प रहेको पनि बताए । अहिले १२० दिनको अन्तिम कारोबार रकमको औषत मूल्य वा आजको कारोबार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशत रकमसम्म सेयरधितो कर्जा दिन पाइन्छ । यो व्यवस्था पुनरावलोकन गर्ने हो भने राष्ट्र बैंकले १२० दिनलाई बढी वा घटी तथा ७० प्रतिशतलाई कम वा बेसी गर्न सक्छ ।

‘सेयर बजारमा थप कर्जा प्रवाह होस भन्ने चाहने हो भने अहिलेको ७० प्रतिशतलाई सोभन्दा बढी र कम गर्ने हो भने सोभन्दा कम प्रतिशत भनेर तोक्न सक्ने ठाउँ छ, पहिल्लो समय बजार निकै बढेकोले अहिलेको १२० दिनलाई बढाउने हो भने पनि कर्जा घट्ने अवस्था रहन्छ, त्यसैले यसमा पुनरावलोकन भनेको १२० दिन तथा ७० प्रतिशतको मानकलाई पुनरावलोकन गर्ने भन्ने नै हो, यी दुबै मानक पुनरावलोकनमा पर्छन्, कुनै एउटा व्यवस्थाको मात्रै पुनरावलोकन हुन्छ वा कुनै हुदैन भनेर यकिन साथ भन्न सकिने अवस्था छैन,’ सहप्रवक्ता पोखरेलले भने ।

राष्ट्र बैंकले राष्ट्रिय आवश्यकता अनुसार उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनको लागि अनुत्पादक क्षेत्रमा जाने कर्जामा सकेसम्म कडाइ गरिरहेको हुन्छ । यस्तो कडाईको मारमा सेयरधितो कर्जा पनि पर्ने गरेको छ । राष्ट्र बैंकले सेयरधितो कर्जाको विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने जानकारी दिए लगत्तै सेयर लगानीकर्तासँग सम्बन्धित संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई सामुहिक रुपमा भेटेर बजारमा नकारात्मक असर पर्ने प्रकारका नीतिगत परिवर्तन नगर्न आग्रह गरिसकेका छन् ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकलाई लगानीकर्ताका प्रश्नै प्रश्नः सेयर बजार बढेको देखि नसक्नु भएको हो ?

मौद्रिक नीतिले तर्सायो पुँजी बजारलाई, के होला अब सेयर बजार ?

Share News