काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बिक्री आज(मंसिर २९ गते)देखि खुला भएकाे छ । कम्पनीले आजदेखि प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गरेकाे हाे ।
जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरीे र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ ।
उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यो अवधिभित्र सबै आईपीओ बिक्री नभएमा ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको कम्पनीले जानकारी गराएको छ । इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मकाे सेयरको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।