काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि साधारण सेयर (आइपिओ) जारी गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० कित्ता आइपिओ जारी गरेको हो ।
यसरी जारी गरिएको ६० करोडको आइपिओमध्ये सो कम्पनीमा कार्यरत कर्मचारीले ५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ पाउँदैछन् । यस्तै, ५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सेयर समुहिक लगानी कोषको लागि छुट्टयाइएको हुन्छ ।
प्रभु लाइफले दिएको जानकारी अनुसार गत असार मसान्तसम्ममा कम्पनीमा १ सय ६७ जना स्थायी, ५५ जना परीक्षण कालमा र ३६ जना करारका कर्मचारी छन् । कर्मचारीको लागि सुरक्षित गरिएको आइपिओबाट करारमा रहेका कर्मचारीलाई सामान्यतः दिने गरिदैन । तर, आइपिओ निकाल्ने कम्पनीले धितोपत्र बोर्डमा कारण सहित खुलाएर स्वीकृति लिएमा करारका कर्मचारीले पनि आइपिओ पाउन वाधा भने पर्दैन ।
प्रभु लाइफका स्थायी र परीक्षणकालमा रहेका कर्मचारीको संख्या २२२ छ । करारका कर्मचारीलाई आइपिओ नदिएको अवस्थामा सो कम्पनीका २२२ कर्मचारीले ३ करोड रुपैयाँ बराबरको आइपिओ सुरक्षित रुपमा पाउने छन् ।
कम्पनीका स्थायी र परीक्षणकालमा रहेका कर्मचारीले बराबर संख्यामा आइपिओ पाउँदा १३ सय ५१ कित्ताका दरले आइपिओ पाउने छन् । तर, कम्पनी संचालक समितिले कर्मचारीको पद, तलब तथा अन्य मापदण्डका आधारमा माथिल्लो तहका कर्मचारीले धेरै र तल्लो तहका कर्मचारीले कम सेयर पाउने व्यवस्था मिलाउने गरेको अभ्यास भएकोले प्रभु इन्स्यारेन्सका कुन पदका कुन कर्मचारीले कति कित्ता सेयर पाउँछन् भने तोकेरै भन्न सक्ने अवस्था भने छैन ।