काठमाडौं । बुधबारको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित बजार खुलेको केही अवधिमै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नबिल बैंकको सेयर मूल्यमा सर्किट लागेको हो ।
बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५८६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २३५ रुपैयाँले बढी हो । मंगलबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २३५१ रुपैयाँमा भएको थियो ।
यो अवधिमा इन्स्योरेन्सको सेयर बेच्न इच्छुक कोही छैनन् भने एक लाख बढी कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् ।
त्यस्तै, नबिल बैंकको सेयर मूल्यमा लगातार दुई दिन सर्किट लागेको छ । उच्च लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।
बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १४८९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३५ रुपैयाँले बढी हो । अघिल्लो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १३५४ रुपैयाँ थियो ।
यो समाचार तयार पर्दासम्म कम्पनीको १ लाख ९३ हजार ३५२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् । उता बेच्न इच्छुक कोहि पनि देखिएका छैनन् ।
यी दुबै कम्पनीको लाभांश घोषणाको प्रभाव सेयर मूल्यमा परेको हो । दुबैले गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश वितरण गर्ने भएसँगै लगानीकर्ता यी कम्पनीको सेयरमा आकर्षित भएका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्सले पुस ७ गते मात्रै गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । कम्पनीले सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
त्यस्तै, नबिल बैंकले पनि पुस ६ गते मात्रै गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । बैंकले सेयरधनीलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद लाभांश गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।