काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस र ३० प्रतिशत नगद (कर सहित) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीको ३९औं वार्षिक साधारणसभा पुस २९ गते बिहान ११ बजे बस्दै छ ।
सभाले अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव गरेको छ । साथै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक पनि तोक्ने कम्पनीको सामान्य प्रस्ताव रहेको छ ।
सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १८ गते बुक क्लोज हुने भएको छ । यससँगै पुस १७ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको ३९औं वार्षिक साधारणसभामा भाग लिन पाउने छन् ।