काठमाडौं । नेपाली सेयर बजारमा पनि ‘इन्फरमेसन ट्रेडिङ’ गरी ‘सेयर मार्केटिङ’ गर्ने क्रम बढेको छ । हुँदै नभएको गतिविधिलाई गलत रुपमा प्रचार प्रसार गरी सेयर खरिद विक्रीलाई प्रभावित पार्नु नै ‘इन्फरमेसन ट्रेडिङ’ गरी सेयर मार्केटिङ गर्नु हो ।
पछिल्ला दिनमा सेयर बजारमा इन्फरमेसन ट्रेडिङ बढेको छ । केही दिनअघि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज हुने हल्लाले यी दुबै कम्पनीको सेयर खरिद विक्री र मूल्य प्रभावित भयो । सिद्धार्थ बैंक र नबिल बैंकबीच मर्ज हुने हल्ला हिजो र अस्ति दिनभर नै नेपाली सेयर बजारमा चल्यो ।
यस्तै, आज नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक नबिल बैंकसँग मर्ज हुने हल्ला चलेका कारण एनसीसी बैंकको सेयर मूल्यमा उछाल आएको छ । अरु कम्पनी कम्पनी पनि फलानोसँग मर्ज हुन लाग्यो, हकप्रद सेयर दिन्छ, यति प्रतिशत बोनस घोषणा गर्र्दैछ भन्ने जस्ता हल्ला सेयर बजारमा व्यापक हुन थालेका छन् ।
पुँजी बजारमा चल्ने यस्ता हल्लाको समयमा उचित लाभ लिनु नै विवेकशील लगानीकर्ताको धर्म हो । ‘बाई द र्युमर, सेल द न्युज’ भन्ने सिद्धान्त विश्वभरको दोस्रो बजारमा चलेको हुन्छ । यो भनेको मुल्य बढ्ने प्रकारको हल्ला चलेको बेलामा सेयर किन, सत्य समाचार सार्वजनिक भएपछि सेयर बेच’ भन्ने हो । कुनै कम्पनीको राम्रो हल्ला बजारमा चलेको छ भने त्यस्तो हल्लाले सो कम्पनीको सेयर मूल्य बढाउन सहयोग गर्छ । त्यस्तो बेलामा सेयर खरिद गरेमा सत्य कुरा सार्वजनिक भएपछि मूल्य कम हुन सक्छ । त्यसैले लगानीकर्ताले सोही अनुसारको व्यवहार प्रदर्शन गर्नुपर्छ ।
बजारमा चलेका हल्ला कति आधिकारिक हुन्, कति इन्फरमेसन ट्रेडिङको लागि हुन् भनेर नियामक निकायहरुले हेर्नुपर्ने हो, यहाँ त इन्साइडर ट्रेडिङलाई समेत प्रभावकारी रुपमा हेर्न नसकिएको गुनासो आउने गरेको छ, त्यसैले इन्फरमेसन ट्रेडिङ हो कि सही सुचना हो भनेर लगानीकर्ता आफै सचेत हुनुको विकल्प देख्दिनँ
पछिल्लो समय नेपाली सेयर बजारमा इन्फरमेसन ट्रेडिङ गरी सेयर मार्केटिङ गर्ने क्रम बढेको पुँजी बजार विज्ञ तथा लगानीकर्ता प्रकाश तिवारी बताउँछन् । इन्फरमेसन ट्रेडिङको लागि सामाजिक संजाल प्रयोग भइरहेको उनको अनुभव छ ।
‘सामाजिक संजालमा बनाइएको ४०/५० हजार मानिस आवद्ध भएको ग्रुपमा विभिन्न प्रकारका हल्ला फैलाउन प्रयोग गरिन्छ, सो हल्लाको आधारमा कुनै कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने गरेको देखिन्छ, सेयर खरिद विक्रीमा अनलाइन प्रणाली आएपछि इन्फरमेसन ट्रेडिङले अझ व्यापकता पाएको देख्छु,’ तिवारीले भने ।
अनलाइन खरिद विक्री प्रणाली आउनु अघिसम्म ब्रोकरलाई अनुरोध गरेर मात्रै सेयर खरिद वा विक्री गर्न सकिन्थ्यो । त्यस्तो अवस्थामा बजारमा चलेका हल्ला सही हुन् कि होइनन् भन्ने बारेमा ब्रोकरले पनि लगानीकर्तालाई परामर्श दिने गर्थे । तर, अनलाइन कारोबार आएपछि ब्रोकरको सल्लाह वा परामर्शविनै हल्लाको भरमा धेरै मानिसले सेयर खरिद वा विक्रीको आदेश गर्न सक्ने भएकोले ‘र्युमर ट्रेडिङ’लाई प्रश्रय दिइरहेको छ ।
इन्फरमेसन ट्रेडिङलाई नियामक निकायले प्रभावकारी रुपमा नियमन गर्नुपर्ने आवश्यकता तिवारीले देखेका छन् । तर, अहिलेको अवस्थामा नियामकबाट यस्तो प्रकारका आशा गर्ने ठाउँ अलि कम भएको उनको प्रतिक्रिया छ ।
‘बजारमा चलेका हल्ला कति आधिकारिक हुन्, कति इन्फरमेसन ट्रेडिङको लागि हुन् भनेर नियामक निकायहरुले हेर्नुपर्ने हो, यहाँ त इन्साइडर ट्रेडिङलाई समेत प्रभावकारी रुपमा हेर्न नसकिएको गुनासो आउने गरेको छ, त्यसैले इन्फरमेसन ट्रेडिङ हो कि सही सुचना हो भनेर लगानीकर्ता आफै सचेत हुनुको विकल्प देख्दिनँ,’ तिवारीले भने ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुली आधिकारिक सुचना प्रवाहमा जोड दिएको अवस्थामा र्युमर ट्रेडिङ कम हुने बताउँछन् । बजारमा चलेका हल्लामध्ये कुन सही हुन्, कुन गलत हुन् भनेर लगानीकर्ताले पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।
सार्वजनिक भएका बाहेक कुनै सुचनामा शंका लाग्यो भने लगानीकर्ताले सम्बन्धित कम्पनीबाट पुष्टी गर्न गराउन सक्ने अवस्था भएकोले थप सजिलो छ, तर यी दुबै अवस्थाको लागि लगानीकर्ता सचेत हुन भने आवश्यक हुन्छ
‘हामीले कम्पनीहरुलाई आधिकारिक सुचना प्रवाहलाई जोड दिन वाध्य बनाइरहेका छौं, कम्पनीहरुले जारी गर्ने सार्वजनिक सुचनाले पनि चलेको हल्ला सही हो कि होइन भनेर परीक्षण गर्न मद्दत गर्छ, सार्वजनिक भएका बाहेक कुनै सुचनामा शंका लाग्यो भने लगानीकर्ताले सम्बन्धित कम्पनीबाट पुष्टी गर्न गराउन सक्ने अवस्था भएकोले थप सजिलो छ, तर यी दुबै अवस्थाको लागि लगानीकर्ता सचेत हुन भने आवश्यक हुन्छ,’ पराजुलीले भने ।
पुँजी बजारबारे जानकार दिलिप मुनंकर्मी दोस्रो बजार भनेकै मूल्यांन्तरको खेल हुने ठाँउ भएकोले ‘इन्फरमेसन ट्रयाप’ (सुचनाको धराप) मा पारेर ‘आउट साइडर ट्रेडिङ’ हुने बताउँछन् ।
दोस्रो बजारमा हुने इन्साइडर ट्रेडिङलाई कानुनले बर्जित गर्यो तर, सुचनाको धरापमा पारी हुने आउटसाइडर ट्रेडिङ (खुल्लमखुल्ला अफवाह फैलाएर सेयर मूल्य प्रभावित गरी हुने कारोबार) लाई कसैले ध्यान दिएकै छैन, यस्ता कुरालाई हेर्न नियामकीय गतिविधि बृद्धि गर्नु एकमात्र विकल्प हो
‘दोस्रो बजारमा हुने इन्साइडर ट्रेडिङलाई कानुनले बर्जित गर्यो तर, सुचनाको धरापमा पारी हुने आउटसाइडर ट्रेडिङ (खुल्लमखुल्ला अफवाह फैलाएर सेयर मूल्य प्रभावित गरी हुने कारोबार) लाई कसैले ध्यान दिएकै छैन, यस्ता कुरालाई हेर्न नियामकीय गतिविधि बृद्धि गर्नु एकमात्र विकल्प हो,’ मुनंकर्मीले भने ।
सम्बन्धित क्षेत्रका विशेषज्ञको भनाईलाई आधार मान्दा पुँजी बजारमा हुने इन्फरमेसन ट्रेडिङलाई नियन्त्रण गर्न सहज छैन । दोस्रो बजारमा हुने मूल्यांन्तरको खेलामा विभिन्न प्रकारका रणनीति वा दाउपेच भने चलिरहेका हुन्छन् । यस्तो अवस्थामा लगानीकर्ताले लगानी गर्नुअघि आफ्नो जोखिम बहन क्षमता कति छ, सो अनुसारको निर्णय गर्नु उचित हुन्छ । यस्तै, बजारमा चलेका हल्ला कति विश्वसनीय हुन्, हल्ला चले जस्तै हुने सम्भावना कति छ भन्ने जस्ता विषयमा ध्यान पुर्याउनु आवश्यक हुन्छ ।