
बागमती प्रदेश अन्तर्गतको मकवानपुर जिल्लामा पर्ने एउटा सुन्दर नगरपालिका हो ‘थाहा नगरपालिका’ । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित यो नगरपालिका महाभारत श्रृंखलाको मध्य भागमा रमणिय उपत्यकाको रुपमा रहेको छ ।
यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरबाट सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि हिमश्रृंखलाहरु अवलोकन गर्न सकिन्छ । रमाइलो पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिकस्थलहरु, प्रशस्त जैविक विविधताजस्ता सम्पदाहरुले थाहा नगरपालिकालाई विशेष बनाएको छ । त्यसैगरी, यहाँको प्रशस्त उर्वर कृषि भुमी त यस क्षेत्रले पाएको वरदान नै हो भन्दा फरक पर्दैन । यस क्षेत्रबाट वार्षिक २ अर्व बरावरको तरकारी देशका प्रमुख शहरहरुका साथै छिमेकी देश भारतमा समेत निर्यात हुने गरेको छ । मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरलाई करिव बिच भागवाट चिर्दै तराईलाई राजधानी काठमाडौसँग जोडेको छ ।
नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के के रहेका छन्, कोरोनाकाल पछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ, महामारीले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, नगरपालिकाले रोजगारीका अवसरहरु कसरी सिर्जना गरिरहेको छ भन्ने लगायतका विषयमा नगर प्रमुख लवशेर विष्टसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्:
नगरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ?
कोरोनाले पक्कै पनि असर पुर्याएको छ । सजगता अपनाउँदा अपनाउँदै पनि कोरोनाका कारण यहाँका २ जनाको ज्यान गयो । महामारीका वेला हामीले २० बेडको क्वारेन्टिन र आइसोलेसन निर्माण गरेका थियौं । हाल भने कोरोनाको त्रास हट्दै गएको भान हुँदैछ । स्थिती पहिलेभन्दा सामान्य बन्दै गएको छ ।
नगरपालिकामा कस्तो किसिमको योजनालाई प्रथमिकता दिएर काम गरिरहनुभएको छ ?
गत साल कोरोनाले विकास निर्माणमा ठुलो असर पुर्याएको थियो । कोरोनाको असर भए पनि सामान्य तरिकाले विकास निर्माणको कामलाई अगाडि बढाएका थियौं । हामीले अहिले भौतिक पूर्वाधार लगायत नागरिकका आवश्यकतासँग सम्बन्धित विकास निर्माणलाई जोड दिएका छौं । सडक, विद्युत, खानेपानी लगायतलाई पनि नगरपालिकाले प्रथमिकतामा राखेको छ ।
स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?
हामी अहिले संघियताको पहिलो अभ्यासमा रहेका छौं । पहिले जनप्रतिनिधि नहुने भएको हुनाले कानुन मिलेको थिएन । के-के अधिकार हाम्रा हुन् , के-के अधिकार प्रदेशका हुन् भन्ने कुराहरु छलफल भइरहेको अवस्था थियो । संविधानले तोकेको कुराहरु पनि कसले कसरी प्रयोग गर्ने भन्ने हुन्थ्यो । हाल स्थानीय तह र प्रदेश सरकारबिच राम्रोसँग समन्वय भैरहेको छ । समन्वय गरेरै विकास निर्माणका कामहरु अघि बढाईरहेका छौं ।
स्थानीय तहमा काम गर्दा मुख्य रुपमा के-कस्ता समस्याहरु आईपर्ने रहेछन् ?
स्थानीय तहमा धेरै नै समस्याहरु रहेका छन् । मुल समस्या भनेकै जुन गतिमा विकास हुनुपर्ने हो, त्यो अनुसारको नहुनु नै हो । खानेपानीमा समस्या छ, त्रिभुवन राजपथ छियाछिया परेको छ । खोलाहरुमा पुल निर्माणदेखि लिएर सिँचाइसम्ममा समस्यै समस्या रहेको छ । हामी त्यस्ता समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्नेतर्फ केन्द्रीत रहेका छौं ।
केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ?
केन्द्र सरकारबाट राम्रै सहयोग मिलेको छ । नगरपालिकालाई बजेट पनि सोचेअनुसारको नै आउने गरेको छ । हाम्रो नगरपालिकामा ९० करोड रुपैयाँ बराबरको बजेट बन्ने गरेको छ ।
नगरपालिकाले विकास निर्माण गरेका कामहरु कत्तिको प्रभावकारी भएका छन् ?
नगरपालिकाले प्रभावकारी काम गरेको छ । योजना कसरी ल्याउने भन्ने विषयमा बनाइएको मोडल अनुसार वडा अध्यक्ष तथा सदस्यहरु गाउँ-टोलमा गएर पहिचान गर्नुहुन्छ । आजसम्म नगरपालिकामा जे-जति विकास निर्माणका काम भएका छन् सबैमा सबैजना सन्तुष्ट भएको पाएको छु ।
तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसके पछि नगरपालिकामा कस्ता परिवर्तन आएका छन् ?
म निर्वाचित हुनु अघि बजेटको आकार सानो थियो । काम गर्ने तरिका पनि छिटो छरितो थिएन । नगरिकको माग पनि राम्रोसँग सम्वोधन हुँदैनथ्यो । म निर्वाचित भएपछि विभिन्न क्षेत्रमा सुधार आएको छ । स्वास्थ्य सेवामा पनि परिवर्तन आएको छ । बजेटको आकार सानै भएपनि विकास निर्माणतर्फ सन्तुष्ट गर्ने ठाउँ रहेको छ ।
तपाईं निर्वाचित भएको ३ वर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झन लायक काम के-के छन् नि ?
खोलामा पुल निर्माण गरेका छौं, घरघरमा खानेपानी पुर्याउने वातावरण बनाएका छौं, आधुनिक कृषि प्रणालीतर्फ नागरिकलाई अवसर प्रदान गरेका छौं, पर्यटन क्षेत्रमा पनि विकास भएको छ, बसपार्कको निर्माण गरेका छौं, हरेक वडामा सडक कालोपत्रे गर्नका लागि कम्मर कसेका छौं, सडकलाई ग्राबेल गरेर यातायातहरु बर्खामा पनि सञ्चालन हुने वातावरण बनाएका छौं, खेल मैदानको निर्माण भईरहेको छ, भुकम्पले क्षति गरेका विद्यालय पुनः निर्माण गरेका छौं, शिक्षा क्षेत्रमा पनि निक्कै परिवर्तन ल्याएका छौं, वडामा एक-एक वटा स्वास्थ्य केन्द्रको स्थापना गरेका छौं, १५ बेडको अस्पतालका लागि टेन्डर प्रकिया अगाडि बढिरहेको छ ।
तपाईसँग चुनाव लडेका प्रतिस्पर्धीको साथ कस्तो पाइरहनु भएको छ ?
मसँग चुनाव लडेका प्रतिस्पर्धीको राम्रै साथ पाइरहेको छु । चुनाव भनेको निर्वाचित भएर आउने एउटा विधि हो । मैले सबै बाट साथ र सहयोग पाइरहेको छु ।
नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ?
हामीले केठेश्वर १७ सय मेट्रिक टनको निर्माण गरेका छौं । यस आर्थिक वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको छ । कोरोनाले गर्दा पनि यसको काममा ढिलाई भएको छ । ११ करोड ४७ लाख रुपैयाँ बराबरको बजेटमा यो काम अघि बढिरहेको छ । २ ठुला पुल निर्माण गरिरहेका छौं । एउटा पुल ५ करोड रुपैयाँको लागतमा र अर्काे पुल ७ करोड ५० लाख रुपैयाँको लागतमा बनिरहेको छ । खानेपानीको एउटा योजना सम्पन्न भएर घरघरमा धारा पुगिसकेको छ ।
आफ्नो नगरपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?
हामीले पर्यटन क्षेत्रको प्रचारप्रसारमा बढि जोड दिएका छौं । गाउँघरका सानातिना उत्पादन तथा लोप हुन लागेका समानहरुको प्रचारप्रसार गरिरहेका छौं । सामाजिक अनि धार्मिक क्षेत्रको पनि प्रचारप्रसार गरिरहेका छौं । दामन भ्यु टावरबाट सगरमाथासहित २५ भन्दा बढि उच्च हिमशिखरहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस बाहेक रमाइला पदमार्गहरु, प्रख्यात सिमभन्ज्याङ्ग लगायतले पर्यटकलाई लोभ्याउने हुनाले पनि हामीले यिनको प्रचारप्रसारमा जोड दिएका छौं ।
कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असर तथा हालको शैक्षिक अवस्था वारे बताइदिनुस् न
कोरोनाले सबैभन्दा बढि असर शैक्षिक क्षेत्रमा पुर्याएको छ । नगरपालिकामा निजि र सामुदायिक गरी जम्मा ६२ वटा स्कुलहरु रहेका छन् । लकडाउनको समयमा अनलाइन बाट पढाउन सकिन्छ कि भनेर धेरै प्रयत्न गरेका थियौं । सबैका घरमा इन्टरनेट नहुनाले त्यो सम्भव भएन । रेडियोका माध्यम बाट पनि पढाउन थाल्यौं तर त्यो पनि प्रभावकारी भएको थिएन । पछिल्लो समयमा विद्यार्थीहरुलाई विद्यालयमै बोलाएर सामाजिक दुरी कयम गराउँदै पठनपाठन सञ्चालन गरिरहेका छौं । हाल नगरपालिकामा कोरोनाको खासै प्रभाव छैन पनि ।
नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?
हाम्रो नगरपालिकामा आलुको धेरै उत्पादन हुने गरेको छ । यसमा प्रधानमन्त्री कृषि आधुनिकिकरण पनि लागु भएको छ । कृषि विकासको लागि नगरपालिकामा रहेको कृषि शाखाले पनि काम गरिरहेको छ । हामीले धेरै मात्रामा हाते ट्रयाक्टरहरु वितरण गरेका छौं । टनेल खेतीलाई विकास गर्नुपर्छ भन्ने ठानेर ५० प्रतिशत अनुदानमा टनेल दिएर प्रोत्साहन गरेका छौं । नेपाल सरकार तथा युएनडीपीको सहयोगमा बजार विकास पनि लागु भएको छ । अनुदानमा नगरपालिकाको नगद दिने कार्यक्रम चाहिँ रहेको छैन ।
नगरपालिकाले युवाहरुका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?
रोजगारी सिर्जना गर्नका लागि हामीसँग कलकारखाना छैनन् । अहिले हामीले विदेश बाट फर्केका तर रोजगारी नभएकाहरुलाई अनलाइन फर्म भर्न लगाएका छौं । युवाहरुको चाहना तथा सीप उनीहरुसँगै सोधेर कामको अवसर मिलाउने वातावरण तयार गरिरहेका छौं ।
मानिसहरु नगरपालिकामा प्रायः कस्ता समस्या लिएर आउने गर्दछन् ?
मानिसहरु विभिन्न किसिमका समस्या लिएर आउने गरेका छन् । सबैभन्दा बढि त सडकको कुरा लिएर आउँछन् ।
तपाइँको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?
नगरिकको मागलाई सकेसम्म सम्वोधन गर्न प्रयासरत छु । म आफ्नो कार्यकालमा जे-जति पूर्वाधार विकासका कामहरु गर्छु, इमान्दारीतापूर्वक गर्नेछु । कमसेकम यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई इमान्दारपूर्वक काम गर्ने मान्छेका रुपमा सम्झने गरे भने मेरो लागि त्यही नै सबै भन्दा ठुलो सफलता हुनेछ ।