काठमाडौं । पूर्व बैंकर अनलराज भट्टराईले बैंकहरुको यो वर्षको नाफालाई गत वर्षको नाफासँग दाज्न नमिल्ने बताएका छन् । गत वर्षको माघसम्मको अवस्था र अहिलेको अवस्था विल्कुलै भिन्न भएकोले तुलना गरेर धारणा बनाउनु गलत हुने उनको भनाई छ ।
गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा अधिकांश बैंकहरुको नाफा कम भएको प्रकाशित वित्तीय विवरणले देखाएका छन् । तर, अहिलेको विषम परिस्थितिमा पनि बैंकहरुको नाफा ५ प्रतिशत मात्रै घट्नुले नेपालमा वित्तीय अनुशासनको अवस्था असाध्यै राम्रो रहेको पुष्टी भएको उनको विश्लेषण छ ।
‘गत वर्षको पुस मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा बैंकहरुको नाफा ५ प्रतिशत जतिले घटेको उनीहरुको वित्तीय विवरणले देखाएको छ तर, गत वर्षको पहिलो ६ महिनाको अवस्था असाध्यै राम्रो थियो, यो वर्षको पहिलो ६ महिना असाध्यै खराब छ, त्यसकारण गत वर्षकोभन्दा यो वर्ष नाफा घट्यो भनेर धारणा बनाउनु भनेको अनुहार मिल्छ भनेर बाघलाई विरालोसँग दाज्नु जस्तै हो, त्यसो गर्न मिल्दैन,’ पूर्व बैंकर भट्टराईले विकासन्युजसँग भने ।
उनले यस्तो खराब अवस्थामा पनि बैंकहरुले असाध्यै राम्रो प्रगति गरेको उल्लेख गरे । बैंक तथा वित्तीय संस्थाहरु, नियामक निकाय नेपाल राष्ट्र बैंक र ऋणीहरुको व्यवहार प्रसंसा गर्न लायक भएको पनि बताए । बजारका सरोकारवालाले वित्तीय अनुशासन देखाएको र नेपालको वित्तीय अनुशासन असाध्यै राम्रो भएकोले बैंकहरु नाफा रहन सफल भएको उनको भनाई छ ।
अब आए चुनौतिका दिन !
कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गत वर्षको चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरु गरेको थियो । सरकारले लकडाउनपछि सटडाउन र त्यसपछि निषेधाज्ञा जारी गरेर भदौसम्म नै मानवीय आवागमनमा र आर्थिक क्रियाकलाप नियन्त्रण गरेको थियो । सोही कारण नेपालको आर्थिक क्रियाकलाप ४ प्रतिशतसम्ममा खुम्चिएको राष्ट्रय बैंकले गरेको अध्ययनले देखाएको छ ।
‘कुनै बेला ४ प्रतिशतमा खुम्चिएको आर्थिक गतिविधि अहिले बढेर ५५ प्रतिशतको हाराहारीमा पुगेको तथ्यांकले देखाएको छ, महामारीको बेलामा बैंकिङ क्षेत्रमा तरलता थुप्रियो, अहिले कर्जाको माग बढ्न थालेको छ भने सरकारले लिने करको कारण पनि तरलताको माग बढिरहेको छ, तरलताको माग बढेको र आपूर्ति घटेको अहिलेको अवस्थाले आगामी दिन नेपाली वित्तीय बजारकै लागि चुनौतिपूर्ण हुने देखिन्छ,’ भट्टराईले थपे ।
उनले राजनीतिक कारणले पनि आगामी दिन त्यति सुखद हुन नसक्ने संकेत गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादका कारण गरेको प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधिन रहेकोले राष्ट्रिय राजनीति अब कुन रुपमा अघि बढ्छ भन्ने यकिन छैन ।
‘प्रतिनिधिसभा विघटनको पक्षमा रहेको समुह अदालतले विघटनलाई सदर गर्छ भन्ने विश्वासमा छ, विपक्षमा रहेको समुह पुनस्थापना हुन्छ भन्ने विश्वासमा छ, पुनस्थापना वा विघटन सदर जे भएपनि एउटा पक्ष असन्तुष्ट हुने नै भयो, त्यस्तो असन्तुष्टी कुन रुपमा व्यक्त हुन्छ भन्ने यकिन नहुँदासम्म अर्थतन्त्रको आगामी दिन कस्तो होला भनेर अनुमान लगाउन गाह्रो हुन्छ,’ भट्टराईले भने ।
नाफा घटेको असर सेयर बजारमा पर्ला ?
पूर्व बैंकर भट्टराईले बैंकहरुको गत वर्षको तुलनामा नाफा घटेको वित्तीय विवरण सार्वजनिक भएको असर सेयर बजारमा तत्काल नपर्न सक्ने अनुमान गरे । सबैभन्दा खराब अवस्थामा पनि कम्पनीहरु धेरै संकटमा नदेखिएको, नेपालमा पनि कोरोना विरुद्धको खोप सुरु भइसकेको तथा अर्थतन्त्र चलायमान भइसकेकोले अब आत्तिनु नपर्ने उनको भनाई छ ।
तर, अहिले बैंकको नाफा धेरै नघट्नुमा नेपाल राष्ट्र बैंकले दिएको नीतिगत सहुलियत पनि भएकोले अब राष्ट्र बैंकले कस्तो नीति अख्तियार गर्छ भन्ने कुराले पनि बैंकहरुको नाफा प्रभावित हुने उनको भनाई छ ।
पुँजी बजारबारे जानकार दिलिप मुनंकर्मीले बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणले डराउनेभन्दा पनि सचेत भएर आशावादी बन्नुपर्ने अवस्था देखिएको बताए ।
‘चैतमा लकडाउन सुरु गर्दा अब केही बैंकहरु धरापमा पर्छन् होला भन्ने प्रकारका टिकाटिप्पणी सुनिन्थ्यो तर, कुनै बैंक संकटमा परेनन्, प्रायः सबै बैंकहरुले सेयरधनीलाई बोनस वितरण गरे, खराब अवस्थामा त टिकेका कम्पनीहरु अब झन सहज अवस्था आएपछि संकटमा पर्लान् कि भनेर तर्सनै पर्दैन, यो वर्ष बोनस खुवाउन सकेनन् भने अर्काे वर्ष खुवाउँछन्, आत्तिनु पर्दैन,’ मुनंकर्मीले भने ।
सम्बन्धित समाचार