काठमाडाैं । कास्की जिल्लामा पर्ने पाँच स्थानीय तहमध्ये माछापुच्छ्रे गाउँपालिका तेस्रो ठुलो स्थानीय तह हो । यस गाउँपालिकाकृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ९ ओटा वडा रहेको यो गाउँपालिका ५ सय ४४ दशमलब ५८ वर्ग किलोमिटरसम्म फैलिएको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिण काखमा रहेको यस गाउँपालिकाका अधिकांश स्थानहरुबाट मनोहर हिमश्रृङ्खला तथा हरिया पहाडहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ । माछापुच्छ्रे हिमालको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो ।
यो गाउँपालिकाको पूर्वतर्फ मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला, त्यसैगरी दक्षिणमा पोखरा लेकनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका पर्दछन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन् र त्यसैगरीरोजगारीको अवसर सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमाकेन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं ।
कृषि विकास
गाउँपालिकाले वार्षिक नीति, कार्यक्रम तथा बजेट विनियोजन गर्दा कृषिलाई प्रथमिकतामा राख्ने गरेको छ । नेपाल सरकारले फलफुल दशक मनाइरहेको सन्दर्भमा यस गाउँपालिकामा पनि सुन्तला, कागती र जुनार रोपण अभियान चलिरहेको छ । गाउँपालिकाले केही वडालाई पकेट क्षेत्रको रुपमा पनि घोषणा गरेको छ भने‘एक घर एक करेसाबरी’ को अवधारण पनि अगाडि सारेको छ । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गरेको छ । कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफुल संकलन गर्ने केन्द्र पनि गाउँपालिकाले स्थापना गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भइरसका कारण बैदेशिक रोजगारबाट फर्केका तथा बेरोजगार भएर बसेका युवालाई कृषि एवं पशुपालन व्यवसायमा संलग्न गराउनको लागि गाउँपालिकाले स्थानीय सहकारी मार्फत युवालाई अनुदान दिने व्यवस्था पनि मिलाएको छ । सहकारीमार्फत दुध बिक्रि गर्ने कृषकलाई बिक्रिको आधारमा प्रोत्साहन अनुदान दिने व्यवस्था पनि मिलाएको छ । गाउँपालिकामा दुध उत्पादन पकेट क्षेत्र छुट्याएर कृषकसँगको लागत साझेदारीमा स्थानीय प्रजातीका भैँसी प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेको छ । २०७६ सालको घर सर्वेक्षण अनुसार यस गाउँपालिकामा ७६ दशमलव ७९ प्रतिशत घर परिवारको मुख्य पेशा कृषि तथा पशुपालन रहेको थियो ।
गाउँपालिकाको योजना
गाउँपालिकाको प्रशासनीक भवन निर्माण भइरहेको छ । १० करोड रुपैयाँको लागतमा सो भवनको निर्माण भइरहको हो । ‘एक घर एक धारा’ अभियान पनि सञ्चालनमा रहेको छ । करिब ८ करोड रुपैयाँको लागतमा गाउँपालिका र वडा कार्यलय जोड्ने पक्कि सडकको निर्माण पनि भइरहेको छ । गाउँपालिकालाई केन्द्रसँग जोड्ने सडकको कामपनिधमाधम भइरहेको छ । १ अर्ब रुपैयाँ बराबरको लगानीमा एन्फा टेक्निकल सेन्टरको काम पनि अगाडि बढिरहेको छ ।
चालु आर्थिक वर्षको लागि यस गाउँपालिकाको बजेट कुल ६२ करोड ६७ लाख ३९ हजार २ सय ९० रुपैयाँ रहेको छ । जसमा गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड २६ लाख २० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
शैक्षिक विकास
शैक्षिक क्षेत्रतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ ।१० ओटा माध्यमिक विद्यालय र २६ ओटा आधारभूत तथा प्रा.वि. गरी जम्मा ३६ ओटा सामुदायिक विद्यालयहरु गाउँपालिकामा सञ्चालित छन् । विद्यालयहरुको भौतिक सुधारको कार्यक्रम पनि गाउँपालिकाले गरिरहेको छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा छात्राहरुलाई निःशुल्क रुपमा स्यानेटरी प्याड वितरण गर्दै आएको छ । गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला, लाईबे्ररी तथा सिटि कक्षा स्थापनातथा सञ्चालन भएका छन् । स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन पनि सञ्चालन भइरहेको छ । गाउँपालिकाले गुणस्तर शिक्षामा विशेष जोड दिएको छ ।
स्वास्थ्य क्षेत्रको विकास
गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको भौतिक विकास तथा सुधार गरिरहेको छ । स्वास्थ्यकर्मीहरुले कुपोषण न्यूनीकरण गर्ने र पोषण सम्बन्धी जनचेतनाको अभियान पनि चलाएका छन् । आधारभूत स्वास्थ्यसेवाको नियमित उपलब्धताको सुनिश्चितताको लागि औषधिको नियमित आपूर्ति र भण्डारको व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ ।
नेपाल सरकारको नीति बमोजिम गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल पनि निर्माण भइरहेको छ । स्वास्थ्य बीमामार्फत प्रदान गरिने सेवाको पहुँचलाई विस्तार गरी महिला, बालबालिका,ज्येष्ठ नागरिक, दलित, सिमान्तकृत, शहिद परिवार रद्वन्द्व पीडित नागरिकलाई स्वास्थ्य बीमाको रकम अनुदानको रुपमा दिने कार्यक्रम पनि यस गाउँपालिकामा रहेको छ ।
खेलकुद विकास
खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले ‘एक वडा एक खेल मैदान’ को अवधारण सुरु गरेको छ । यस गाउँपालिकामायुवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटवललगायतका खेलहरू गाउँपालिकामा आयोजना हुने गरेका छन् । गाउँपालिकाका युवाहरू खेलकुदतर्फ उत्सुक छन् ।राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ ।
पर्यटन विकास
यो गाउँपालिका पर्यटकीय क्षेत्रको प्रचुर संभावना बोकेको ठाउँ हो । गाउँपालिकामा होमस्टेको अवधारणा सुरु भएको छ भने ल्वाङ गाउँमा चिया बगान पनि सञ्चालनमा आएको छ । माछापुच्छ्रे मोडल ट्रेकिङ रुट तथा मर्दी हिमाल ट्रेकिङ रुट पनि यो गाउँपालिकामा पर्छ । धम्पुस, अस्ट्रेलियन वेस क्याम्प, धिताल, घलेखर्क सिदिङ, मर्दी हिमाल हाइक्याम्प र लो क्याम्प पनि गाउँपालिकामा सञ्चालित छन् ।
माछापुच्छ्रे हिमाल यो गाउँपालिकामा पर्छ । भौगोलिक हिसाबले पनि सुन्दर यस गाउँपालिकामा पर्यटकहरुको बाक्लो उपस्थिति रहेको पाइन्छ । गाउँपालिकाले पर्यटन विकासको लागि विभिन्न योजनाको तर्जुमा पनि गरेको छ । पदयात्रा गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गर्ने काम पनि गाउँपालिकाले गरिरहेको छ । गाउँपालिका भित्र क्यानोनिङ्ग, रक क्लाइम्बिङ्गजस्ता साहसिक पर्यटकिय स्थलको पहिचान तथा विकास गर्ने योजना रहेको छ । विभिन्न पुराना पदमार्गहरुको संरक्षण गर्न र नयाँ पदमार्गहरुको निर्माण गर्नमा गाउँपालिकाले विशेष ध्यान दिएको छ ।
युवा रोजगारी
युवालाई रोजगार सिर्जना गर्नमा पनि गाउँपालिकाको ठुलो भूमिका खेलेको छ । युवालाई लक्षित गर्दै प्रधानमन्त्रि रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । गाउँपालिकाले युवालाई निःशुल्क सिप विकास तालिम पनि दिँदै आएको छ । लोकसेवा तयारी गर्ने युवालाई गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षाको व्यवस्था मिलाएको छ । यस गाउँपालिकाका धेरै युवाहरु पशुपालन तथा कृषि पेशामा जोडिएका छन् । कृषि पेशा गर्ने युवालाई गाउँपालिकाले अनुदानको व्यवस्था पनि मिलाएको छ ।
जनप्रतिनिधीहरु तर्फको कुरा गर्नुपर्दा यस गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ्ग हुनुहुन्छ भने उपाध्यक्षमाकृष्ण कुमारी पौडेल दवाडी हुनुहुन्छ ।
(गाउँपालिकाका सूचना अधिकारी युवराज पाैडेलसँग गरिएकाे कुराकानीमा आधारित)