न्यून बजेटको कारण विकासका धेरै काम गर्न सकेका छैनौं – गाउँपालिका अध्यक्ष घले

<p>नासोँ गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ९ ओटा वडा रहेको यो गाउँपालिका ९ सय ५८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । वि.सं. २०६८ [&hellip;]</p>

नासोँ गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।

९ ओटा वडा रहेको यो गाउँपालिका ९ सय ५८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । वि.सं. २०६८ को जनगणना अनुसार गाउँपालिकाको जनसंख्या १९ हजार ३८ रहेको छ । गाउँपालिकाको सिमानामा पूर्वतर्फ गोरखा जिल्ला, पश्चिममा चामे गाउँपालिका र लमजुङ जिल्ला, उत्तरमा नार्पा भूमी गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत रहको छ भने दक्षिणमा लमजुङ जिल्ला रहेको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । गाउँपालिकामा कोदो र धान उत्पादन हुँदैन भने मकै, गहुँ, आलु बढी उत्पादन हुने गरेको छ । गाउँपालिकामा स्याउ जोन क्षेत्र पनि छुट्याएका छौं । स्याउ फार्मको अवधारण अगाडि सारेका छौं । २ वर्ष पछि यसको नतिजा राम्रो आउँछ भन्ने हाम्रो आशा रहेको छ ।

हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । हाम्रो गाउँपालिकामा कृषियोग्य जमिनको उपलब्धता अत्यन्तै कम रहेको कारण कृषि उपज उत्पादन ज्यादै न्यून भएता पनि पशुपालन व्यवसायलाई पनि हामीले जोड दिएका छौं । उन्नत जातका बाख्रा पनि कृषकलाई वितरण गर्दै आएका छौं । यो वर्ष चौँरीका बाछा वितरण गर्ने पनि हाम्रो लक्ष्य रहेको छ ।

कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । बजेटको अभावको कारण हामीले गाउँपालिकाका वडाहरूलाई पकेट क्षेत्रका रूपमा छुट्याउन सकेका छैनौं । पकेट र ब्लक क्षेत्र छुट्याउने भनेर कृषि ज्ञान केन्द्रले प्रपोजल तयार पनि गरेको छ । आलु तथा फापर आदिको पकेट क्षेत्र छुट्याउने हाम्रो लक्ष रहेको छ । रासायनिक मल अन्त्य गरी प्राङ्गारिक मलको प्रयोग गर्न कृषकलाई आग्रह गरेका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ?

गाउँपालिका भित्रका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको मुख्य पेशा खेति किसानी नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ९० प्रतिशत मानिसहरू कृषि पेसामा आवद्ध छन् भन्न सकिन्छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र विकासको लागि कसरी काम गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । हाम्रो गाउँपालिका पर्यटकीय पदयात्राका दृष्टिकोणले महत्वपूर्ण रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । वर्षेनी हजारौंको सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटकहरू मनाङ जिल्ला प्रवेश गर्ने द्वारको रूपमा हाम्रै गाउँपालिकालाई लिन सकिन्छ ।

हाम्रो गाउँपालिका भित्र पर्यटकको सेवालाई मध्यनजर गर्दै विभिन्न सुविधा सम्पन्न होटल, लज, होमस्टे तथा गेष्टहाउसहरु सञ्चालनमा छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गाउँपालिकाको पर्यटकीय क्षेत्रमा पनि ठुलो असर पुर्यायो । गाउँपालिकामा पहिलो प्राथमिकताको रूपमा पर्यटक क्षेत्रलाई नै राखेका छौं । चक्रे पदमार्ग निर्माण गर्ने हाम्रो लक्ष पनि रहेको छ । यसको काम अगाडि बढेर १ करोड ५० लाख रुपैयाँ खर्च पनि भएको छ ।

पदमार्गको लागि हामीले प्रदेश र केन्द्रलाई अनुरोध पनि गरिरहेका छौं । डोना तथा पुङ्कर ताल पर्यटकीय स्थलको रूपमा चर्चित रहेको छ । यसका साथै धार्मिकस्थलहरू पनि गाउँपालिकामा प्रशस्त रहेका छन् । गाउँपालिकामा दक्षिण एसियाकै सबैभन्दा अग्लो झोलुङ्गे पुल पनि रहेको छ । ग्रामीण भेग भएका कारण हाम्रो गाउँपालिका शहरी सुविधा भन्दा पनि गाउँले परिवेशमा रमाउने तथा पदयात्राको मज्जा लिन चाहने प्रकृति प्रेमिकालागि अनुपम गन्तव्य हो ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ?

गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासको लागि पनि धेरै काम गर्दै आइरहेको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउने भनेर आवासिय अवधारण पनि अघि सारेका छौं । प्रदेश र केन्द्र सरकारको सहयोगमा गाउँपालिकाको वडा नं. ५ मा रहेको प्रकाशज्योती मा.वि. को भवन निर्माणको काम पनि सुरु भएको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

स्वास्थ्य क्षेत्रको विकासका लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको प्रत्येक वडामा अस्पताल रहेको छ । आधारभुत स्वास्थ्य चौकि गाउँपालिकामा ३ ओटा रहेको छन् । नेपाल सरकारको लक्ष्य अनुसारको ५ बेडको अस्पतालको पनि डीपीआर भइसकेको छ । सरकारले दिएका औषधीहरु गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । ठुलो रोगको उपचार गाउँपालिकामा हुन चाहिँ सकेको छैन । गाउँपालिकामा रहेका सबै नागरिकको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ?

धेरै ठुलो योजना हाम्रो गाउँपालिकामा रहेको छैन । गाउँपालिकामा प्रदेश र केन्द्रको सहयोगमा हुन लागेका योजनाहरु केही मात्रामा छन् । गाउँपालिकामा ३ ओटा हाइड्रोपावर निर्माणको कामहरु भइरहेको छ । सडक विकासका कामहरु पनि भइरहेको छ । बजेटको आकार सानो भएको कारण सडक विकासको लागि धेरै बजेट छुट्याउन सकेका छैनौं । बर्खामा यातायातको सञ्चालन हुन सक्दैन । सडकको स्तर उन्नती तथा ट्र्याक खोल्ने काम पनि भइरहेको छ । बजेटको आकार सानो भएको कारण गाउँपालिकामा धेरै विकास निर्माणको काम गर्न सकेका छैनौं । ‘एक घर एक धारा’ अभियान पनि चलाइरहेका छौं । हाम्रो गाउँपालिकाको सबै वडामा बिजुली पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको काम पनि भइरहेको छ ।

खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ?

नेपाल सरकारले बनाएको ‘एक वडा एक खेल मैदान’ भन्ने जुन खालको नीति रहेको छ त्यो अनुसारको नै वडा नं. १ मा खेल मैदान निर्माण सुरु गरेका छौं । युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, फुटबल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरेका छौं । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

रोजगारी दिनको लागि गाउँपालिकामा ठुलो उद्योगहरु रहेका छैनन् । यहाँका धेरै युवाहरु कृषि पेशामा आवद्ध भएर स्वरोजगार पनि बनेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । युवाहरुले स–साना कृषि उद्योग पनि स्थापना गरेका छन् । प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताइदिनुस् न

पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरू पनि भएका छन् । भौतिक संरचनाहरूको निर्माण पनि भएका छन् । सडक पिच हुन नसके पनि सडकको विकास भएका छन् । खानेपानीको व्यवस्था हुन थालेको छ । वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयहरुका भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम पनि अगाडि बढाइरहेका छौं ।

गाउँपालिकामा नागरीकहरु प्रायः कस्ता समस्या लिएर आउँछन् नि ?

खानेपानी, बिजुली, सडक पुगेन भन्ने जस्ता समस्याहरु लिएर आउने गरेका छन् ।

अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

अहिलेसम्मको काम गराईबाट म सन्तुष्टनै छु । तरपनि गाउँपालिकामा बजेटको आकार न्यून रहेको छ । न्यून बजेट रहेको कारण धेरै विकास निर्माणको कामहरु गर्न सकेका छैनौं । विकास बजेट भनेर १ करोड ५० लाख रुपैयाँ मात्र बजेट विनियोजन हुने गरेको छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउन योजना छ ?

हामीले सुरु गरेका योजनाहरू सम्पन्न गर्ने योजना छ । बनिरहेका सडक संरचनाहरू पूरा गर्ने पनि योजना रहेको छ । मेरो अबको बाँकी रहेको कार्यकालमा गाउँपालिकाको भवन निर्माण गर्नेछु । भौगोलिक हिसावले विकट भएपनि जग्गा खरिदको सम्बन्धमा केन्द्र सरकारसँग समन्वय गरेर मन्त्रिरिषदबाट पनि पास भइसकेको छ । यो वर्षबाट भवन निर्माणको काम सुरु गर्ने लक्ष्य लिएको छु । देखिने खालका योजनाहरूतर्फ काम गर्ने योजना समेत बनाएको छु ।

Share News