काठमाडौं, ३१ जेठ । महालक्ष्मी फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत चितवनको वसन्तपुरमा शनिबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महालक्ष्मी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “समृद्ध माडीको निर्माणमा वित्तीय सँस्थाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा माडीको आर्थिक गतिविधी वृद्धिमा वित्तीय सँस्थाबाट प्रवाह गर्नु पर्ने कर्जा सुविधा, तिनका प्रक्रिया, उद्यमी छनोट, उद्यमीलाई तालिम, बजारीकरण लगायत विविध विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यपत्र र बैकिङ्ग गतिविधिमा माडी उद्योग वाणिज्य सँघका अध्यक्ष रेशम आचार्य, माडी भरतपुर सम्पर्क मंचका अध्यक्ष जितेन्द« भण्डारी, एनजिओ फेडेरेशनका प्रसाद दुवाडी, महालक्ष्मी फाइनान्स, नारायणगढका शाखा प्रबन्धक गणेश बजगाई, माडी क्याम्पस प्रमुख कुलानन्द भुषालले टिप्पणी गरेका थिए ।
अन्तरक्रियाको खुला सत्र अन्तर्गत सहभागिहरुको तर्फबाट गरिएको विविध प्रश्न र जिज्ञासाको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जवाफ दिएका थिए । कार्यक्रममा साविक गर्दी, वघौडा, कल्याणपुरी र अयोध्यापुरी क्षेत्रका उद्योगपति व्यापारी तथा वसन्तपुर बजारका स्थानियको सहभागिता रहेको फाइनान्सले जनाएको छ ।