काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व ठूलो संकटमा छ । विभिन्न देशहरु यो संकटलाई परास्त गर्न लागि परेका छन् । नेपाल पनि लामो समयदेखि कोरोना भाइरसको लडाईंसँग जुधिरहेको छ ।
यो भाइरसकै कारण गत वर्ष लामो समयसम्म लकडाउन भयो । त्यसले पनि मानिसको दैनिकी सँगै आर्थिक गतिविधिहरु ठप्प भए । परिणाम स्वरुप देशले ठूलो अर्थतन्त्रमा नोक्सानी मात्रै व्यहोरेन यो भाइरसकै कारण सयौं मानिसले अकालमै ज्यान गुमाए ।
अहिले फेरि कोरोना भाइरसको दोस्रो लहरले जनजिवन अस्तव्यवस्त छ । देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । अझै पनि यो भाइरसको संक्रमणदर कम हुन सकेको छैन ।
यति ठूलो जनधनको क्षति भइरहेको समयमा भने नेपालमा ठूलो राजनीतिक खेल भइरहेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा विश्वका धेरै देशहरु यो सँग लडाईं गरिरहेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्नको लागि धेरै देशहरु स्वास्थ्य सामग्री तथा कोरोना विरुद्दको खोपको सहज आपुर्ति मात्र होइन घर भित्रै थुनेर बसिरहेको सर्वसाधारणहरुलाई राहत दिइरहेका छन् ।
तर, नेपाल भने राजनीतिक लडाईंमा व्यस्त छ । कोरोना भाइरसको यही परिस्थितीमा नेपाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी फुट्नुमा महत्वपूर्ण हिस्सा मात्रै बोकेनन् उनले यही भयावह अवस्थामा प्रतिनिधि सभा संसद विघटन गरेर आफ्नो नाम संविधानमाथि ‘कु’ गर्ने प्रधानमन्त्रीका रुपमा इतिहासमा लेखाउन भ्याए ।
कोरोना भाइरसको यो महामारीमा उनको यो सनकको प्रभाव प्रदेश सरकारसम्म पुग्यो । प्रदेश सरकार पनि राजनीतिक रौनक र कित्ता काट गर्न व्यस्त बन्यो । जसको प्रत्यक्ष मारमा सिंगो देश र आम नागरिकलाई पर्यो ।
कोरोनाको यो विषम परिस्थितिमा धेरै प्रदेश र संघीय मन्त्रीहरु परिवर्तन भए । धरै सासंद कारवाहीमा परे । यही अवस्थामा निर्वाचन हुने सम्मका गतिविधिहरु भए । प्रधानमन्त्रीको त्यो सनक र एकलौटी शासनको परिणाम स्वरुप बहुमत प्राप्त नेपाल कम्युनिट पार्टी अहिले अध्यादेश ल्याएर काम चलाउने मात्र होइन बजेट पास नगराउन सक्ने स्थितिमा पुग्यो ।
संघ र प्रदेशमा राजनीतिक माहोलमा व्यस्त भइरहँदा स्थानीय सरकारले भने यो महामारीमा संघीयताको गज्जवको अभ्यास गरेको उदाहरण देखाएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रण तथा उपचारमा स्थानीयतहहरुले आफुले सकेसम्मको प्रयास गरिरहेका छन् ।
यो विषम परिस्थितिा अधिकांश स्थानीय तहहरु एकजुट भएर यो रोगको निदानमा लागि परेका छन् । स्थानीय तहहरुले कोरोना भाइरस नियन्त्रण गर्नको लागि केन्द्र र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरिरहेका छन् । तथापि उनीहरु खटेरै काम गरिरहेका छन् ।
विभिन्न स्थानीय तहहरुले कोरोना संक्रमितहरुको निःशुल्क उपचार गर्ने, आइसोलेसन कक्ष निर्माण गर्ने, निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने मात्र होइन घरघरमै गएर पीसीआर परीक्षण गर्ने काम पनि स्थानीय तहले गरेका छन् ।
कोरोना संक्रमितहरुको मनोबल बढाउन र उपचार सहज होस् भन्ने उद्धेश्यले अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले आफु चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोग गरेका छन् भने कतिले प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको भन्दै सहयोग जुटाउने अभियानहरु सञ्चालन गरिरहेका छन् । हामीलाई जानकारी भएसम्म आफुले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने स्थानीय तहको नाम यहाँ प्रस्तुत गरेका छौं ।
बाह्रबिसे नगरपालिका
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उपमेयरले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेकी छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि उपमेयर सुशीला पाख्रीनले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेकी हुन् ।
बान्नीगढी जयगढ गाउँपालिका
अछाम को बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले पनि आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेका छन् । कोरोना संक्रमितको संख्या उच्च रहेको प्रदेशका रुपमा रहेको यस गाउँपालिकाका अध्यक्ष खड्काले पालिकामा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।
तिलोत्तमा नगरपालिकाका
रुपन्देहीमा पर्ने यस नगरपालिकाका मेयर र उपमेयरले चढदै आएको गाडी पनि एबुलेन्सको प्रयोग गरेका छन् । पालिकाका मेयर बाशुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरीले सवारी साधनका रूपमा स्कूटर प्रयोग गरेर गाडी एम्बुलेन्सका रुपमा सञ्चालन गरेका हुन् ।
पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिकाका मेयर र उपमेयरले आफूले चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् । नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड–१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका हुन् ।
घ्याङलेख गाउँपालिका
सिन्धुली जिल्लामा पर्ने घ्याङलेख गाउँपालिकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या बढेपछि गाउँपालिका अध्यक्ष जगत बहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले प्रयोग गर्ने गाडीलाई कोरोना संक्रमित बोक्न एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेका हुन् ।
तीनपाटन गाउँपालिका
तीनपाटन गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्सँगै एम्बुलेन्स अभाव भएपछि उपाध्यक्ष पदममाया तामाङले चढ्दै आएको गाडी बिरामीको सेवाका लागि प्रयोगमा ल्याइने भएको छ । एम्बुलेन्स पर्याप्त नहुँदा र अन्य सवारी साधनले बिरामीलाई बोक्न नमानेपछि यतिबेला संक्रमित समस्यामा पर्दै आएका छन् । त्यसैलै उपाध्यक्षको गाडी एम्बुलेन्सको ल्याइको छ ।
रामेछाप नगरपालिका
रामेछाप जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छन् । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स रुपमा प्रयोग गर्न दिएको हो । गाडीमा आवश्यकता अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन गरिने छ ।
बेलका नगरपालिकाका
उदयपुरको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले पनि आफू चढ्ने सरकारी गाडी कोभिडका बिरामीका लागि उपलब्ध गराएका छन् । नगरप्रमुख थापाले चढ्ने गरेको गाडी कोभिड प्रभावितको सेवामा समर्पित गरेपछि कोभिडका बिरामीलाई अस्पताल लैजान प्रयोग गरिएको छ । उदयपुरमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै नगर प्रमुख थापाले यस्तो उद्घोष गरेका हुन् ।
इनरुवा नगरपालिका
इनरुना नगरपालिकाकी उप–प्रमुख जमुना गौतम पोखरेले आफू चढ्ने सरकारी गाडी बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । यो गाडी गर्ववती महिला, कोभिडका बिरामी सथै समस्या परेका नागरिकहरुले यो गाडी प्रयोग गर्न सकिने उप प्रमुख पोखरेले बताइन् ।
कालीका गाउँपालिका
रसुवाको कालीका गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले पनि आफु चढ्दै गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । पालिकामा पनि संक्रमण दर तिब्र रुपमा फैलिए पछि एबुलेन्सको अभाव भएको कारण चढ्दै आएको गाडी एबुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् ।
शहिदनगर नगरपालिका
कोरोना महामारीको बेला जनतालाई उपचारमा सहजताको लागि धनुसा जिल्लाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यालब) ले पनि आफुले चढदै आएको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन् । कोरोना भाइरसको द्रोस्रो लहरले सुरु भएसँगै पालिकामा एबुलेन्सको अभावमा ग्रामिण भेगका नागकिलाई अस्पताल पुगनको लागि कुनै पनि समस्या नहोस् भनेर गाडीलाई एम्बुलेन्सको प्रयोग गर्न दिएको मेयर बरबरियाले जनाए ।
बन्दिपुर गाउँपालिका
गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लामा यो गाउँपालिका पर्छ । तीब्र गतिमा फैलिएको कोरोना भइरसबाट यो गाउँपालिकाका पनि दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । पालिकामा कोरोनाको उच्च जोखिम बढेसँगै एम्बुलेन्सको पनि अभाव भयो तर एम्बुलेन्स अभाव हुन नदिनको लागि पालिकाकी उपाध्यक्ष करुणा गुरुङले पनिे चढ्दौ आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकि छिन् ।
मझुवागढी नगरपालिकाका
खोटाङको मझुवागढी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइएको छ । कोभिड–१९ बाट गम्भीर बिरामी भएका संक्रमितलाई नगरपालिकाको आइसोलेसन सेन्टरसम्म पु¥याउन वा थप उपचारका लागि रेफर भएको अवस्थामा काठमाडौं, विराटनगरलगायत अस्पताल लैजान उपयोग गर्ने गरी प्रमुख रिजाल र उपप्रमुख राईले आफ्ले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा उपयोगमा ल्याएको हो ।
अभियान चलाउँदै धनगढी उपमहानगर
सुदूरपश्चिमको कैलालीमा पर्ने धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको उपचारमा स्वास्थ्य सामग्री तथा अक्सिजनको अभाव भएको भन्दै सहयोगको अभियान सञचालन गरिरहेको छ । उपमहानगरले अक्सिजन प्लान्ट स्थापना गर्नको लागि सर्वसाधारण, दातृ निकाय, व्यवसायी लगायतलाई सहयोगको अपील गरेको छ । प्रदेश र केन्द्र सरकारले वास्ता नगरेपछि उपमहानगरले नै सहयोगको अपील गरेको उप प्रमुख सुशिला भट्ट मिश्रले जानकारी दिइन् ।
यस उपमहानगरपालिकाले धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग मागिरहेको हो । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम कम गर्न कुनै पहल नगरेको आरोप पनि लागिरहेको छ । केही दिन अगाडि मात्रै सुदूरपश्चिम प्रदेश सरकार हराएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।