प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन – उपप्रमुख राई

<p>विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको नियन्त्रणका लागि षडानन्द नगरपालिका कम्मर कसेर लागिपरेको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा नगरपालिकाको सक्रियता पनि प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । पालिकामा कोरोनाको संक्रमण दर उच्च भई संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । यस्तो अवस्थामा नगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि [&hellip;]</p>

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको नियन्त्रणका लागि षडानन्द नगरपालिका कम्मर कसेर लागिपरेको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा नगरपालिकाको सक्रियता पनि प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । पालिकामा कोरोनाको संक्रमण दर उच्च भई संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । यस्तो अवस्थामा नगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाकी उप–प्रमुख मेरिका राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

नगरपालिकामा कोरोनाको संक्रमण दिन प्रति बढ्दो छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ?

अन्य ठाउँमाजस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा नगरपालिकाले १४ बेडको आइसोलेसन कक्ष तयार पारेको छ । आवश्यक परेमा आइसोलेसन कक्ष बढाउने तयारी पनि गरेका छौं । स्वास्थ्यकर्मीको अभावले हालसम्म संक्रमितलाई पालिकाले बनाएको आइसोलेसनमा राखेका छैनौं । अहिले तत्काल भने संक्रमित भएका नागरिकलाई अन्यत्रै लगेर राख्ने व्यवस्था मिलाएका छौं । नगरपालिकाको केन्द्रमा १५ शैयाको अस्पताल रहेको थियो तरपनि हालसम्म त्यो अस्पताल सञ्चालनमा आएको छैन । त्यहि अस्पतालमा नै कोरोनाका बिरामीहरूलाई राख्ने योजना रहेको छ । पालिकामा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर नै काम गरिरहेका छौं भने नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । पालिकामा भेन्टिलेटरको अभाव छ । कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीहरूलाई निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएका छौं । पालिकामा पीसीआर गर्नका लागि ल्याब छैन तर स्वाब संकलन गरी पीसीआरको लागि नजिकैको धनकुटा जिल्लामा लगेर चेक गर्ने व्यवस्था मिलाएका छौं ।

नगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेका छौं । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेका छौं । पालिकाका धेरैभन्दा धेरै कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा बसेका नागरिकहरूको स्वास्थ्य अवस्था पनि बुझिरहेका छौं । हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र पालिकाले बनाएको आइसोलेसन कक्षमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमै सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बस्ने नागरिकहरूलाई सामान्य मेडिकल प्याकेज किट दिने गरेका छौं ।

इरखुवा खोला हाइड्रोपावरमा काम गर्ने धेरै कामदारहरूलाई कोरोना संक्रमण भएको छ । कम्पनीले उनीहरुलाई इटहरी लगेर स्वास्थ्य अवस्थाको ख्याल गरिरहेको छ । हाइड्रोपावरबाट गाउँ नजिकै रहेको हुँदा गाउँका धेरै नागरिकहरू पनि कोरोना संक्रमित भएका छन् । पालिकाको आफ्नो एम्बुलेन्स छैन । एम्बुलेन्स नभएको कारण पालिकाले नै एउटा गाडी हायर गरी एम्बुलेन्सको रूपमा प्रयोग गरेको छ । पालिकाबाट अन्य जिल्लासँग जोडने सडकको मोटरेबल पुल नभएको कारण समस्या पनि भइरहेको छ ।

संखुवासभा र पालिका जोड्ने फेरी सञ्चालनामा छ तर बर्खाको समयमा यो फेरी पनि सञ्चालन हुन सक्दैन । पालिकाका कोरोना संक्रमितहरुलाई खाँदवारी नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन कक्षमा राखेका छौं । चाहेर पनि हामीले एम्बुलेन्स निःशुल्क गर्न सकेका छैनौं बरु अस्पतालले तोकेको दरमा नगरपालिकाले केही सहुलियत दिएर रकम तोकेका छौं । बिरामीलाई एम्बुलेन्स आवश्यक परेको खण्डमा पालिकाले हायर गरेको गाडीलाई तुरुन्तै पठाउने व्यवस्था मिलाएका छौं ।

नगरपालिकाको अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन ?

हाम्रो प्राथमिकता सकेसम्म आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्था गर्नुपर्छ भन्ने हो । पालिकामा हाल अक्सिजन तथा सिलिण्डरको अभाव छ । त्यसैगरी स्वास्थ्य जनशक्तिको पनि अभाव छ । वडा नं. १ मा स्वास्थ्य सामग्रीको अभाव रहेको छ । कोभिडको लागि भनिएको औषधीको पनि अभाव नै छ । नगरपालिकाको सबै वडामा स्वास्थ्य संस्था रहेका छन् । औषधी खरिद गरी ल्याउने क्रममा पनि छौं । पालिकामा १४ ओटा मात्र अक्सिजन सिलिण्डर छन् । यति अक्सिजनले मात्र पालिकामा नपुग्ने अवस्था छ ।

आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ?

गत वर्षको तुलनामा यस पल्टको महामारीमा नागरिकहरू आफैं सचेत हुनुभएको छ । पहिलेको तुलनामा हालको निषेधाज्ञामा पूर्ण रूपमा जनताको सहयोग मिलेको छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसले पालिकाका धेरै मानिसहरूको स्वास्थ्यमा समस्या पारेको छ । अहिलेको स्थितिमा सरकारलाई पूर्ण सहयोग गर्नुपर्छ भनेर आम नागरिकले निषेधाज्ञालाई पूर्ण पालना गरेका छन् । उनीहरूलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं ।

पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । ज्याला मजदुरी गर्न मानिसहरूलाई समस्या छ । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण नगरबासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेकै छ । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरिरहेको छ ।

पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको छ, तर पीसीआर गर्न ढिला भएको भन्ने सुनिन्छ, किन यस्तो भएको होला ?

भाइरल ज्वरोको मौसम भएको कारणले पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको हो । कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका धेरै नागरिकहरूको चाहना पीसीआर गर्ने छ । सबैलाई पीसीआर गर्न सक्ने अवस्था पनि छैन । पीसीआर गर्नको लागि पालिकामा ल्याब छैन । ल्याब अभावको कारण धनकुटा पुग्नुपर्ने अवस्था छ । यो रोग नियन्त्रण गर्नको लागि हामी सबै लागी परेका छौं । पालिकाले समेत संस्थागत आइसोलेसन, स्वाब सङ्कलन तथा संक्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधिहरू गरिरहेको छ । हरेक वडाका संक्रमितको अवस्था बुझ्न र जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिएका छौं । कोरोनाको लक्षण देखिएका बिरामीको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटेको छ भने जनप्रतिनिधिसमेत निरन्तर खटिनुभएको छ ।

संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेर काम गरिरहेका छौं । चिकित्सक तथा जनप्रतिनिधिहरु खटिरहनु भएको छ । कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूले वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसँग परामर्श लिई उनीहरूको नाम संकलन भएपछि पीसीआरको टोलिबाट पीसीआर गर्ने व्यवस्था मिलाएका छौं । बर्खायाम भएको कारण पनि समस्या भइरहेको छ ।

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्तो सहयोग मिलेको छ नि ?

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन । हामीले पटकपटक आर्थिक सहयोगको लागि अपिल गरेका छौं । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुर्नुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं ।

कोरोना महामारीले नगरपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ?

कोरोना महामारीले नगरपालिकाको सम्पूर्ण कामकाजमा ठुलो असर पुर्याएको छ । विकास निर्माणको धेरै योजनाहरू सकिएका थिए तथा भुक्तानीको चरण सञ्चालन भइरहेको थियो । कार्यालयहरु बन्द भएपछि कामदारहरु मारमा परेका छन् । टेण्डर तथा सानातिना तालिमका कामहरू रोकिएका छन् । तथापि आफू सुरक्षित भएर हामीले जनतालाई दिने सेवा दिइरहेका छौं । मानिसहरु जहाँ भिडभाड गर्थे ती ठाउँहरू मात्र बन्द गरेका छौं ।

नगरवासीको लागि नगरपालिकाले कुनै राहतका कार्यक्रमहरू ल्याएको छ कि छैन त ?

हाम्रो पालिकामा धेरैजसो क्षेत्र ग्रामीण छ । यहाँका धेरै नागरिकहरूले कृषि पेशा अँगाल्दै आएका छन् । गत वर्ष हामीले राहतका कार्यक्रमहरू ल्याएका थियौं, तर यो कोरोना महामरिमा कुनै पनि राहतका कार्यक्रमहरू ल्याउन सकेका छैनौं । राहत वितरण गरिहाल्नु पर्ने अवस्था पनि छैन ।

स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा के छ ?

यस्तो किसिमको महामारी आउँछ भनेर हामीले कल्पना गरेका थिएनौं । यो महामारी नियन्त्रण गर्नको लागि हामीले कुनैपनि बजेट छुट्याएका थिएनौं । सामान्य विपद् बजेट भनेर छुट्याएका थियौं । जबसम्म जनता सचेत रहँदैनन् तबसम्म स्थानीय तहको नेतृत्वले मात्र केही हुँदैन । हामीले गरेको कुरामा नागरिकले चासो र समर्थन दिए भने काम गर्न पनि सजिलो हुन्छ । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । जनताको आवश्यकता र चहना दिन प्रतिदिन बद्दै जान्छ । ब्यक्तिगत विकासभन्दा सामुहिक विकासमा बढि जोड दिएका छौं ।

Share News