काठमाडौं । काठमाडौँ महानगरको सहयोगमा आजदेखि क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याईएको छ ।
क्षेत्रपाटी चिकित्सालय अस्पतालमा महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहार्नेछ । यसका लागि गएको बैशाख ३१ गते नै सम्झौता भइसकेको छ ।
महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गर्ने जनाईएको छ ।
अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
उनका अनुसार अहिले जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकता राखिएको छ । अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन, प्रमुख शाक्यको भनाइ थियो ।
उक्त अस्पतालको पूर्वाधार सुधारका लागि महानगरले करीब ३० लाख रुपैयाँ बराबरको खर्चमा लिफ्ट जडान गरिदिएको छ भने नयाँ भवन निर्माण गर्न करीब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन भएको हो ।
बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोभिडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धि माग गरेका थिए । अस्पतालहरुको मागअनुसार विभिन्न मितिमा १२ वटा अस्पतालहरुसँग सम्झौता भएका छन् ।
यसरी गरिएका सम्झौताबमोजिम बुधबारबाट कोभिड अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० वेडको राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ वेडको एचडीयू र २५ वेडको गरी ५० वेडको आइसोलेसन सञ्चालनमा आइसकेका छन् । यस्तै विभिन्न अस्पतालहरुमा ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) सहित उपकरण जडान हुँदैछन् ।
महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका ४ थान भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई र २ थान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई वितरण गरिसकेको छ ।