
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका पनि प्रभावित भएको छ । फाट्टफुट्ट रुपमा संक्रमितहरु देखा परेका छन् । यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी नै देखिएको छ ।
गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष नवराज केसी सँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् ः
गाउँपालिकामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ?
अन्य ठाउँमाजस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । कोभिडबाट प्रभावित धेरै नागरिकहरू त देखिएका छैनन् । तरपनि केही नागरिकहरूमा कोभिडसँग सम्बन्धित लक्षण देखिएको हुनाले उनीहरूको पीसीआर गरेका छौं । स्थानीयलाई कोरोना हुनुभन्दा पनि बाहिरी जिल्लाबाट आएर सावधानी नअपनाउनेहरुका कारण पालिकामा पनि महामारी भयावह हुने हो कि भन्ने चिन्ता छ । पालिकामा कोरोना महामारी फैलिन नदिनको लागि उच्च सतकर्ता अपनाएका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले जनचेतनामुखी कार्यक्रम र सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । पालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ ।
यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा ५ बेडको आइसोलेसन सहितको कोभिड अस्पताल पनि छ । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । विशेष गरी स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकहरूको लागि उच्च सतर्कता अपनाइएको छ । अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन पालिकाले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य पनि गरिरहेको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं ।
पालिकामा अक्सिजनको अभाव छ कि छैन नि ?
सबैतिर अक्सिजनको अभाव भइरहेको अवस्थामा हाम्रो पालिकामा चाहिँ अक्सिजनको अभाव नहुने कुरै भएन । पालिकामा ५ ओटा अक्सिजन सिलिण्डर छ, यति अक्सिजनले मात्र पालिकामा नपुग्ने अवस्था छ । हामीले अझ केही सिलिण्डर खोजेको भएपनि पाएका छैनौं । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण त गर्दै आएका छौं ।
पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?
पीसीआरको लागि एन्टिजेन परीक्षण मार्फत् कोभिड परीक्षण गर्दै आएका छौं । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि पनि जोड दिइरहेका छौं । पालिकामा सामुदायिक स्वास्थ्य केन्द्र रहेको छ, यसमा कोभिडका बिरामीहरुलाई राख्ने व्यवस्था मिलाएका छौं । कोरोनासँग अन्तर्सम्बन्धित लक्षण देखिएका नागरीकहरूको पीसीआर पनि गर्दै आएका छौं । १ सय ९ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न भनी काठमाडौं पठाएका छौं । पोजेटिभ देखिएकाहरुमा यदी स्वास्थ्य अवस्था सामान्य छ भने सुरक्षित तरिकाले होम आइसोलेसनमै बस्ने व्यवस्था मिलाएका छौं । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका छौं । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई स्वास्थ्य अवस्था बुझी सामान्य औषधी पनि दिने व्यवस्था गरेका छौं ।
आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ?
जिल्लाले नै निषेधाज्ञा जारी गरेको भएपनि बाहिरी जिल्लाबाट रातीको समय पारेर मानिसहरु आएको पाइएको छ । यसरी काठमाडौं वा अन्य जिल्लाबाट मानिसहरु आइरहेको हुँदा निषेधाज्ञाको पूर्ण पालना नभएको जस्तो लागेको छ । जिल्लाले गरेपनि पालिका आफैंले चाहिँ निषेधाज्ञा जारी गरेको छैन । बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी अपिल गरेका छौं भने स्वास्थ्य मापदण्डको पनि पूर्ण पालना गर्न अनुरोध गरेका छौं । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण पालिकावासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ ।
प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्तो सहयोग मिलेको छ नि ?
प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन । सङ्घीय सरकारले गत वर्ष पनि १० लाख रुपैयाँ दिने भनेको थियो तर दिएन । गत वर्ष चाहिँ प्रदेश सरकारले ५ लाख रुपैयाँ बजेट दिएको थियो । हालसम्म जोखिम न्यूनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेका छैन । संघीय सरकारले अनुमति दिए कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न चाहन्छौं । अनुमति दिए हामी कोभिड विरुद्धको खोप आफैं किन्न सक्छौं, तर खोप खरिद गर्ने अधिकार हामीमा छैन । हामी केही गर्न चाहन्छौं तर अधिकार नभएकोले समस्या छ । नागरिकको सुरक्षाको लागी हामी खटिरहेका छौं । पालिकाको साधनस्रोतले भ्याएजति महामारी नियन्त्रण गर्नमै केन्द्रीत छौं ।
जोखिम न्युनिकरण गर्नको लागि पालिकामा बजेट अभाव छ कि छैन ?
यो महामारी न्यूनिकरण गर्नको लागि हामीलाई बजेटको अभाव भएको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुर्नुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । पालिकामा भएको विकास बजेटहरु विकास निर्माणकै काममा खर्च भइसकेको छ ।
कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ?
कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । कोरोनाले गर्दा गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरू पूर्ण रूपमा खोलेका छैनौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिने भएको छ । नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रूपमा रहेका कारण पालिकाको अत्यावश्यक वाहेकका सबै सेवाहरू बन्द हुने भएका हुन् । एक ठाउँबाट अर्को ठाउँमा नजानका लागि अपिल गरिएको छ । मानवीय क्षति हुन नदिऔं भन्ने मनसाय छ । सानासाना तालिमका कामहरू पनि रोकिएका छन् ।
भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, त्यो समयमा तपाईंले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला त ?
प्रधानमन्त्रीले के कारणले चुनावको आव्हान गर्नु भयो हामीलाई थाहा भएन । कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रूप लिएको हुँदा चुनाव अहिलेको आवश्यकता होइन । कोभिड–१९ को महामारी नियन्त्रण गर्ने समयमा हाल जनताले चुनाव चाहेका छैनन् । अहिले कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकतामा नागरिकको जीवन रक्षा पर्नुपर्ने हो । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं ।
कोरोनाको खोप ल्याई जनताको जीवन रक्षा गर्न चाहन्छौं । यो समयमा सरकारकै भर पर्ने हो भने महामारी नियन्त्रण कदापी सम्भव देखिँदैन जस्तो लाग्छ । यो समयमा चुनावको वातावरण छैन । चुनाव हुने कि नहुने भनेर सर्वोच्च अदालतको निर्णय आउन बाँकी छ । अहिले नै चुनाव हुन्छ भन्ने पनि टुङ्गो भइसकेको छैन । त्यसैले अदालतले निर्णय गरेपछि मात्र यसको यकिन हुने हो । तर पनि हामी स्थानीय सरकार भएको हिसाबले हरेक उपायहरु अपनाएर जनताको सुरक्षा गर्नमा लागि परेका छौं । हामी चुनाव हैन कोरोनाबाट जनता बचाउन चाहन्छौं ।