
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल सारा विश्वनै ठुलो सङ्कटमा छ । विभिन्न देशहरू यो सङ्कटलाई परास्त गर्न लागिपरेको भएतापनि संक्रमणलाई नियन्त्रण गर्न सफल चाहिँ भएको छैन । नेपाल पनि लामो समयदेखि कोरोना भाइरसको लडाईंसँग जुधिरहेको छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण लुम्बिनी प्रदेश अन्तर्गतको बर्दिया जिल्लामा पर्ने गेरुवा गाउँपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ ।
हिजोआज कोरोनाको जोखिम न्यूनीकरण गर्नको लागि गाउँपालिकाले कस्तो काम गर्दै आएको छ, गाउँपालिकामा संक्रमण थप फैलिन नदिनको लागि कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाकी उपाध्यक्ष हिम कुमारी थरुनीसँग विकासन्युजका लागी राजिब न्यौपानेले गरेको कुराकानी ः
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ?
विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यसले मानव जातिको जीवनमा प्रतिकुल अवस्था सिर्जना गरेको छ । यो समयमा हामी एकदमै असहज अवस्थामा काम गरिरहेका छौ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै गाउँपालिका कोरोना संक्रमण नियन्त्रण अभियानमा छ । यस महामारीलाई नियन्त्रण गर्नको गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेको छ । अस्पताल व्यवस्थापन गर्ने र अस्पतालमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने काम हामी गरिरहेका छौं ।
पालिकामा १० बेडको आइसोलेसन कक्ष पनि रहेको छ । संक्रमण बढ्यो भने २५ जना कोभिडका बिरामीलाई अक्सिजन दिएर राख्न सक्छौं । हाम्रो गाउँपालिकामा ६ ओटा वडा छन् भने प्रत्येक वडामा स्वास्थ्य इकाई रहेका छन् । सबै स्वास्थ्य इकाईमा महामारी नियन्त्रण गर्नको लागि आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । गाउँपालिकाले आवश्यक स्वास्थ्य सामाग्रीको पनि खरिद गरेको छ भने विभिन्न संघसंस्थाबाट पनि स्वास्थ्य सामाग्री प्राप्त भएको छ र हाल गाउँपालिकामा स्वास्थ्य सामाग्रीको अभाव भने छैन । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँंदै आएको छ ।
पालिकामा हालसम्म २ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने जम्मा ८ सय ४८ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण भएको छ । यससँगै हालसम्म मृतकको संख्या ४ पुगेको छ । पालिकामा संक्रमितको संख्या ३ सय ८४ जना पुगेको छ । पालिकामा कोभिडका बिरामीलाई उपचार गर्न नसकेर अन्य अस्पताल रेफर गरेको संख्या ९ छ । १ सय ८ जना कोरोनाका संक्रमितहरु हाल होम आइसोलेसनमा बसेका छन् । कोभिड बिरामीहरूका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डरहरू भरेर तयारी अवस्थामा राखेका छौ ।
गाउँपालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?
कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि वडा नम्बर २ मा १० शैयाको बेडको अस्थाई कोभिड अस्पताल पनि रहेको छ । त्यही कोभिड अस्पतालमा कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि नेपालगन्ज पठाउँछौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन वा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । वडा कार्यालयसँग समन्वय गरी कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर र एन्टिजेन परीक्षण गर्दै आएका छौं । टोलटोलमै पुगेर परीक्षण गर्ने गरेका छौं । पीसीआर र एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ ।
होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनुभएको छ ?
पालिकामा हाल होम आइसोलेसनमा बस्नेको संख्या १ सय ८ रहेको छ । दोस्रो लहरको कोरोना भाइरसको प्रभाव र संक्रमितको संख्या गाउँपालिकामा बढ्दै जाँदा हामीले मास क्वारेनटिनलाई भन्दा होम क्वारेनटिनलाई नै जोड दिएका छौं । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको उपचार गर्न डाक्टरसहितको स्वास्थ्य टोली घरघरमा पुगेको छ । आइसोलेसनमा बसेको संक्रमितलाई परामर्श तथा आवश्यक औषधी पनि वितरण भएको छ । संक्रमितको स्वास्थ्य जाँच, औषधि तथा पीसीआर परीक्षणको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ । आइसोलेसनमा राखिने र गम्भीर बिरामीलाई अस्पतालमा पठाउने गरी उपचार व्यवस्था मिलाइएको छ । होम आइसोलेसनमा बसेका कोभिड संक्रमित नागरिकहरूलाई स्वास्थ्यकर्मीसँग जुनसुकै बेला समन्वय गर्न सकिने व्यवस्था मिलाएका छौ ।
गाउँपालिका हिजोआज कोरोनाको संक्रमितहरुको संख्या कत्तिको बढिरहेको छ, यसलाई नियन्त्रण गर्नको लागि तपाईंहरुको प्रयास कत्तिको सफल भएको छ ?
पालिकामा संक्रमितको संख्या बढ्ने क्रम जारी नै छ । एन्टिजेन र पीसीआर परीक्षण गर्दा संक्रमितहरु फेला परिरहेका छन् । पालिकामा हामी कोरोना महामारी नियन्त्रण गर्नको लागि सक्दो प्रयास गरेका छौं । गत वर्ष अन्य ठाउँबाट पालिकामा प्रवेश गर्नेहरूलाई विद्यालयमा क्वारेन्टिन बनाएर राखेका थियौं । तर, दोस्रो लहरको कोरोना भाइरसको प्रभाव परेपछि रोजगारीमा गएकाहरु धेरै पालिकाबासीहरु गाउँ प्रबेश गरे र गाउँमा आएर धेरै मानिसहरुसँग घुलमिल भए त्यसैले पनि अलिक बढि संक्रमण फैलियो । गत वर्षजस्तो बाहिर जिल्लाबाट पालिकामा प्रवेश गर्ने मानिसलाई क्वारेनटिनमा चाहिँ राख्न सकेनौं ।
कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ?
कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ भने विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । टेन्डरका काम अनि स–साना तालिमका कामहरू पनि रोकिएका छन् । यसले पूर्वाधारहरूको विकासमा बाधा सिर्जना गरेको छ । पालिकाको कामकाजमा मात्र नभई कोरोना भाइरस कोभिड–१९ ले स्वास्थ्य, शिक्षा, यातायात, आदि जस्ता विविध क्षेत्रमा प्रतिकुलता असरको सिर्जना गरेको छ ।
कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ?
चुनौती र समस्या त धेरै नै छन् । महामारी नियन्त्रण गर्नको लागि पालिकामा आवश्यक बजेट छैन । अन्तरीक स्रोत पनि पालिकामा कमै मात्रामा छ । जनताका चाहना, आवश्यकता धेरै छन् तिनीहरूलाई पनि पूरा गर्ने नसकिरहेको अवस्था छ । विकास बजेटबाट पनि हामीले कोरोना महामारी नियन्त्रण गर्नमा खर्च गरेका छौं ।
गाउँपालिकाले गम्भीर खालका बिरामीलाई थप उपचारका लागि के व्यवस्था गरेको छ ?
कोभिडका केही गम्भीर बिरामीहरू नेपालगन्ज रेफर गर्ने व्यवस्था गरेका छौं । बिरामीको अवस्था सामान्य छ भने पालिकाकै अस्पतालमा राखेर उपचार गर्छै ।
कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ?
पालिका स्तरबाट राहतका कार्यक्रमहरू ल्याइएको छैन । हाल राहतमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो रहेको छ । त्यसैले राहतका कार्यक्रमहरू ल्याउन सकेका छैनौं ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ?
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग हाम्रो समन्वय भइरहेको छ । यो महामारी न्यूनीकरण गर्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई कसरी फराकिलो बनाउने यी यावत् कुराहरूमा हामीले छलफल गरेका छौँ । अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रूपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानको प्रशंसा गरेर सकिँदैन ।
प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ ?
प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागी बजेट चाहिँ सहयोग मिलेको छैन तर, स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । यस महामारीको समयमा पनि स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ ।
संक्रमण थप नफैलिओस् भन्नेर कस्तो रणनीति अवलम्बन गर्नु भएको छ ?
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमै गएर सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । हामीले आवश्यक स्वास्थ्य सामाग्री पनि खरिद गरेर राखेका छौं । पहिलाको तुलनामा केही हदसम्म नागरिकहरू पनि सचेत भएका छन् । पालिकामा बजेटको पनि अभाव तर बजेटको अभाव हुन नदिनको लागि गाउँ सभाको बैठक बसेर हामी छलफल गर्ने नै छौं ।
गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ?
पालिकामा कोरोना फैलिन जोखिम क्षेत्रहरूको पहिचान भएको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) बाट पालिकाका सबै समुदाय नै प्रभावित भएको छ । पछिल्लो समयमा कोरोना महामारी पालिकामा बढ्दै गएको छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ छ ।
कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ?
गेरुवा गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगर्दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु ।