काठमाडौं । धादिङको गल्छी गाउँपालिकाले विद्यार्थीलाई ट्रयाक सुट वितरण सुरु गरेको छ । गाउँपालिकाले ३८ सामुदायिक विद्यालयका कक्षा ४ सम्म अध्ययन गरिरहेका विद्यार्थीलाई निःशुल्क रूपमा ट्रयाक सुट वितरण सुरु गरेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष राधा तिमल्सिनाका् अनुसार जाडो मौसममा कपडाको अभावमा बिरामी पर्ने सम्भावनालाई मध्यनजर राख्दै न्यानो ट्र्याक सुट विद्यार्थीलाई हस्तान्तरण गरिएकाे हाे ।
गाउँपालिकाले गत आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट नै ट्र्याक सुट खरिद गरी पालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई वितरण गर्ने गरी हस्तान्तरण गरिएको तिमल्सिनाले जनाइन् । तिमल्सिनाका अनुसार सो बजेट पालिकाको आन्तरिक स्रोतबाट नै संकलन भएको हो ।
‘ ट्रयाक सुट कक्षा ४ सम्मका सबै विद्यालयका विद्यार्थीलाई एक हप्ताभित्र वितरण गरीसकेपछि ८ कक्षासम्मका विद्यार्थीलाई पनि सुट वितरण गर्ने हाम्राे याेजना छ,’ उनले भनिन् । गाउँपालिकाको सबै विद्यालयको विद्यार्थीको ड्रेस एउटै होस् भनेर पनि एउटै खाले ट्र्याक सुट वितरण गरिएको उनले बताइन् ।
गाउँपालिकाले हिजो बागेश्वरी मा.वि र बागेश्वरी आधारभूत विद्यालयमा ट्र्याक सुट वितरण गरिसकेको छ । गाउँपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्वाधार, स्तरीय पठनपाठन र अतिरिक्त क्रियाकलापमा लगानी गरिरहने तिमल्सिनाले बताएकी छिन् ।