काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेप्से परिसूचक २६५७.० बिन्दुमा पुगेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा १०९४.५ बिन्दु अर्थात ७० प्रतिशतले बढी हो । २०७७ असोज मसान्तमा उक्त सूचक १५६२.५ बिन्दुमा रहेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्यांकअनुसार २०७८ असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा १६ खर्ब ३७ अर्ब रुपैयाँले बढी हो । २०७७ असोज मसान्तमा बजार पुँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँ थियो ।
त्यस्तै, गत असोजमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २०९ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७०.७ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.६ प्रतिशत रहेको छ ।
नेप्सेमा २०७८ असोजसम्ममा सूचीकृत ५ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७८÷७९ को तेस्रो महिनासम्ममा ३३ अर्ब ३ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको साधारण सेयर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, १ अर्ब २८ करोड बराबरको बोनस सेयर र १ अर्ब २३ करोड बराबरको हकप्रद सेयर गरी कुल ४१ अर्ब ६० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण सेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद सेयर गरी कुल ६ अर्ब २ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।