दिनमै पौने २ अर्बले बढ्यो सेयर कारोबार, सबैभन्दा बढी एनटीसीको

<p>काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढ्दै गएको छ । मंगलबारको तुलनामा बुधबारको बजारमा पौने २ अर्ब बढी रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार कूल ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८५ करोड रुपैयाँले बढी हो । [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढ्दै गएको छ । मंगलबारको तुलनामा बुधबारको बजारमा पौने २ अर्ब बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार कूल ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८५ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा जम्मा ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

दिनभरको कारोबारमा २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कम्पनीको सेयर कारोबार मात्रै होइन सेयर मूल्य पनि ११२.९० रुपैयाँले बढेर प्रतिकित्ता १३९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ८.८४ प्रतिशतले बढी हो ।

आर्थिक मन्दीको नेपाल टेलिकमको व्यापार उत्साहजनक, नाफा ४९ प्रतिशतले वृद्धि

कम्पनीले चालु आवको गत तीन महिनामा विभिन्न सूचकमा प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएको देखिन्छ । मंगलबारको बजारमा पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।

समग्रमा सेयर मूल्य मापक नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले बढी हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।

बुधबारको बजारमा ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशीको १० प्रतिशतले बढेको छ । त्यस्तै, मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको ९.९९ प्रतिशत, नेपाल बङ्गलादेश बैंकको ९.९८ र मैलुङ्ग खोला जलविद्युत कम्पनी सेयर मूल्य ९.५१ प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा बढी बोटलर्स नेपाल (तराई) को सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य ७.४७ प्रतिशत अर्थात १०५० रुपैयाँले घटेर प्रतिकित्ता १३ हजार १ रुपैयाँमा झरेको छ ।

Share News