काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २७ प्रतिशत (२१ प्रतिशत बोनस र ६ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो ।
हाल संस्थाको चुक्ता पुँजी ४१ करोड ९० लाख रुपैयाँ छ । ४० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५८ करोड ६६ लाख रुपैयाँ नाघ्ने छ ।