काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । गत सोमबारदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक बिहीबार भने दोहोरो अंकले घटेको हो ।
समग्रमा बिहीबारको परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१६ प्रतिशतले घटी हो । कारोबारमा आएका अधिकांश समूह ओरालो लागेसँगै परिसूचक पनि घट्न पुगेको देखिन्छ ।
बिहीबार १३ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये अन्य समूह उकालो लागेको छ भने बाँकी समूह घटेर राताम्मे देखिएका छन् ।
त्यस्तै, बुधबारको तुलनामा बिहीबारको कारोबार रकम पनि घटेर ६ अर्ब २७ करोडमा रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब १० करोड रुपैयाँले घटी हो । बुधबारको बजारमा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
स्टक एक्स्चेञ्जका अनुसार दिनभरमा २२४ वटा स्क्रिप्टको ९८ लाख ६२ हजार कित्ता खरिद बिक्री भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको पछिल्लो दुई दिनदेखि निरन्तर रुपमा सेयर कारोबार बढ्न थालेको छ । कारोबार मात्रै नभएर सेयर मूल्य पनि बढेर प्रतिकित्ता १४३० रुपैयाँ पुगेको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुप पावर कम्पनीको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १४९५ र ६४३ रुपैयाँ पुगेको छ ।
बिहीबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ५.०३ प्रतिशतले घटेर प्रतिकित्ता ५४८ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २९ रुपैयाँले घटी हो ।