काठमाडौं । बिहीबारको सेयर बजार ४९.०४ अंकले घटेको छ । बुधबार बढेको बजार बिहीबार पुनः दोहोरो अंकले घटेर २५८१.६१ बिन्दुमा झरेको छ ।
बिहीबार कारोबार खुलेको केही समय उकालो लागेको बजार त्यसपछि भने निरन्तर घटेर अन्त्यमा १.८६ प्रतिशतले घट्न पुगेको छ । कारोबारमा आएका सबै समूह राताम्मे भएपछि नेप्से परिसूचक पनि घट्न पुगेको हो ।
तर परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार पौने ३ अर्बको सेयर कारोबार भएको बजारमा बिहीबार भने ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सो दिन २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन १२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, १० करोडभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य दुई कम्पनी हिमालयन डिष्टिलरी र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको क्रमशः ११ करोड ७९ लाख र १० करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सामलिङ् पावर र न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ९.९९ र ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५०७.५० र ४१३.१० रुपैयाँ पुगेको छ । दोश्रो बजारमा यी दुबै कम्पनी नयाँ हुन् । दुबैले हालै सर्वसाधारणमा आईपीओ जारी गरेर दोश्रो बजारमा प्रवेश गरेका हुन् ।
बिहीबार सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.८० प्रतिशतले घटेको छ । बुधबारको तुलनामा संस्थाको सेयर मूल्य ६६.६० रुपैयाँले घटेर प्रतिकित्ता ९१३.४० रुपैयाँमा झरेको छ ।