काठमाडौं । आइतबारको सेयर बजार उच्च अंकले घटेको छ । बजारमा नेप्से परिसूचक ७२.३० अंकले घटेर २५१३.८९ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.८० प्रतिशतले घटी हो ।
बजारमा परिसूचक घटेपनि कारोबार रकम बढेको छ । बजार निरन्तर रुपमा घटेसँगै लगानीकर्ताहरुले डराएर सेयर बेच्न थालेपछि कारोबार रकम बढ्न पुगेको हो ।
आइतबारको बजारमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । जबकी गत बिहीबारको बजारमा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार २२६ वटा स्क्रिप्टहरु कारोबारमा आएका थिए । जसमध्ये नेशनल हाइड्रोपावर कम्पनीको उच्च अर्थात २८ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बजारमा अन्य ५ कम्पनीको १० करोड माथिको सेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ३७२ अंकले घटेको छ ।
घटेको बजारमा पनि ९ कम्पनीको सेयर मूल्य बढ्यो
उच्च अंकले घटेको आइतबारको बजारमा पनि ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । अजोड इन्स्योरेन्स, बोटलर्स नेपाल (तराई), कर्पोरेट डेभलपमेन्ट बैंक, मैलुङ्ग खोला जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, सिद्धार्थ इन्स्योरेन्स र यूनिलिभर नेपालको सेयर मूल्य बढेको छ । जसमध्ये न्यादी हाइड्रोपावरको सेयर कारोबार सर्किट लेभलमा भएको छ ।
बजारमा आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी अर्थात ८.३२ प्रतिशतले घटेको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७४८.१० रुपैयाँमा झरेको छ ।