सेयर बजारमा उतारचढाव कायमै, प्राइम बैंकमा झुम्मिए लगानीकर्ता, टप गेनरमा अधिकांश म्युचुअल फण्ड

<p>काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । सोमबाबर ११० अंकको उतारचढाव देखिएको बजारमा मंगलबार पनि ८४.९ बिन्दुको उतारचढाव देखिएको छ । मंगलबार कारोबार खुल्दा नेप्से परिसूचकले उकालोको यात्रा तय गरेको थियो । र, एक घण्टाको अवधिमै बढेर अधिकतम २५९०.७६ बिन्दुसम्म पुगेको थियो । तर, त्यसपछिको कारोबारमा भने परिसूचकले ओरालोको बाटो [&hellip;]</p>

काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । सोमबाबर ११० अंकको उतारचढाव देखिएको बजारमा मंगलबार पनि ८४.९ बिन्दुको उतारचढाव देखिएको छ ।

मंगलबार कारोबार खुल्दा नेप्से परिसूचकले उकालोको यात्रा तय गरेको थियो । र, एक घण्टाको अवधिमै बढेर अधिकतम २५९०.७६ बिन्दुसम्म पुगेको थियो । तर, त्यसपछिको कारोबारमा भने परिसूचकले ओरालोको बाटो तय गर्यो । र, घटेर न्यूनतम २५०५.८६ बिन्दुसम्म पुग्यो । अन्त्यमा बजार बन्द हुँदा मंगलबारको नेप्से परिसूचक ३७.१८ बिन्दुले घटेर २५०८.९१ बिन्दुमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबारमा ३ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन सोमबारको तुलनामा एक अर्ब ४२ करोड रुपैयाँले घटी हो । सोमबारको बजारमा भने ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक पनि दोहोरो अंकले बढेको थियो ।

यसकारण प्राइम बैंकमा झुम्मिए लगानीकर्ता 
मंगलबारको बजारमा लगानीकर्ताहरु प्राइम कमर्शियल बैंकको सेयरमा झुम्मिएका छन् । बैंकको एकैदिन १२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको गत वर्षको प्रस्तावित लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन भएसँगै लगानीकर्ताको आकर्षण बैंकमा परेको हो । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि भोलि अर्थात मंसिर २२ गते बुक क्लोज गर्दै छ । यससँगै आजसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्ने लगानीकर्ताले बैंकको प्रस्तावित लाभांश पाउने छन् । त्यसैले पनि मंगलबार बैंकको सर्वाधिक कारोबार भएको हो । उच्च कारोबार भएको बैंकको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ४४३ रुपैयाँ पुगेको छ ।

प्राइम बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई आगामी पुस ६ गते हुने बैंकको चौधौं वार्षिक साधारणसभाले पारित गर्दै छ ।

त्यस्तै, १० करोडभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य ३ कम्पनी रहेका छन् । महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख, आईसीएफसी फाइनान्सको ११ करोड १ लाख र अपि पावरको १० करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दुई समूहबाहेक सबै राताम्मे
बजारमा १३ वटा समूह कारोबारमा आएका थिए । त्यसमध्ये म्युचुअल फण्ड र ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड र ट्रेडिङ्ग समूह पनि क्रमशः ०.१२ र २१.५३ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी घट्नेमा निर्जीवन बीमा समूह रहेको छ । उक्त समूह एकैदिन १६०.९८ बिन्दुले घटेको छ ।

टप गेनरमा अधिकांश म्युचुअल फण्ड
मंगलबार टप गेनरको अग्रस्थानमा अधिकांश म्युचुअल फण्ड अन्तर्गतका कम्पनी रहेका छन् । जसको इकाई मूल्य ५ प्रतिशतभन्दा कमले बढेको छ । बजारमा सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी अर्थात ४.६५ प्रतिशतले बढेर प्रतिइकाई १०.१३ रुपैयाँ पुगेको छ । त्यस्तै, लक्ष्मी इक्विटी फण्डको ४.४९ प्रतिशत, एनआईबीएल प्रगति फण्डको ३.८९ र सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्य ३.५० प्रतिशतले बढेको छ । यससँगै मंगलबारको बजारमा ५ प्रतिशत भन्दा बढी सेयर मूल्य बढ्नेमा कुनै पनि कम्पनी देखिएनन् ।

मंगलबार टप लुजरको अग्रस्थानमा आईसीएफसी फाइनान्स रहेको छ । संस्थाको सेयर मूल्य ७.६५ प्रतिशतले घटेर प्रतिकित्ता ७१२ रुपैयाँमा झरेको छ ।

Share News