काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छिन् । अध्यक्ष पोखरेलले नियामक निकायहरुले सेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर, सेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताएकी हुन् ।
उनले सेयर बजार नियामक निकायहरुले सेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताइन् । सेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्न, मौद्रिक नीतिमा सेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरुको सेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाइन् ।
‘सरकारका सेयर बजार नियामक निकायहरुले पुँजीबजारलाई लगाम लगाउने हिसाबले अगाडि बढेका छन् । सेयर बजार एउटा गतिमा दौडिरहेको अवस्थामा नियामक निकायहरुले बजारलाई प्रभावित गर्ने गरी नयाँ नीति ल्याउँदा लगानीकर्तामा निराशा छाएको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दा थप बजार प्रभावित भयो थियो । त्यसपछि चालु आर्थिक वर्षको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा एउटा लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा एउटा बैंकबाट ४ करोड र तीन वटासम्म १२ करोडको सिमा तोकिएको कारण सेयर बजारमा निराशा छ । यस्तो अवस्थामा जबसम्म बजारमा पैसा आउँदैन तबसम्म बजार घट्दै जान्छ । तर, मौद्रिक नीतीमा व्यवस्था भएको नयाँ नीति तीन महिनामा संशोधन गर्ने लगानीकर्तालाई बचन दिएको थियो । तर, मौद्रिक नीतिको समिक्षामा पनि नीति संशोधन नगरेकाले लगानीकतामा निराशा छाउँदा बजार गिरावट आएको छ । सेयर बजार सेन्सेटिभ मार्केट भएकाले घटबढ भइरहनुपर्छ । तर नियामक निकायले बनाउने नीतिले सेयर बजार घट्ने र बढ्ने हुनुहुँदैन । नियामक निकायले सेयर बजारमा भएको विकृति विसङ्गतिलाई रोक्नुपर्छ । तर सेयर बजारलाई रोक्नु हुदैन् । अहिले बजारमा तरलताको समस्या छ । यो समस्या सरकारले ल्याएको बजेट खर्च नगरेर राज्यको ढुकुटीमा थन्केर बसेकाले पनि सिर्जना भएको हो । यो विषयमा अर्थमन्त्रीले बजेट खर्च गर्ने कुरामा केही चासोसमेत देखाउनु भएको छैन । यस्ता विविधि कारणले गर्दा सेयर बजारको भविष्य अन्योलमा रहेको छ । पछिल्लो तीन महिनाको अवधिमा सेयर लगानीकर्ताको २० पतिशत नोक्सानी भएको छ । यहि अवस्था तीन वर्षसम्म रहेमा लगानीकर्ताको सेयर बजारमा १० प्रतिशत लगानी पनि रहँदैन,’ उनले भनिन् ।
अध्यक्ष पोखरेलले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फकिएकाले बजार गिरावट भएको बताइन् । उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताइन् । अध्यक्ष पोखरेलले पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुँदै गएको समेत बताएकी छिन् ।