काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस र १.३१५८ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी २६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी १३ करोड ६३ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी १७ करोड ३ लाख रुपैयाँ पुग्ने छ ।
प्रस्तावित २६.३१५८ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा कम हो । संस्थाले आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७६/७७ सम्म सो मात्राको लाभांश घोषणा गरेको थिएन । यो अवधिमा संस्थाले सेयरधनीलाई न्यूनतम १० प्रतिशतदेखि अधिकतम २१ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।