काठमाडौं । सेयर बजार निरन्तर रुपमा घट्ने क्रम जारी रहेको छ । पछिल्लो केही सातादेखि नै निरन्तर घटेको बजारलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिले थप घट्न सहयोग गरेको देखिन्छ ।
अध्यक्ष प्रचण्डले पुँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । उनको यो अभिव्यक्तिमा विज्ञसहित कलाकारसम्मले सामाजिक सञ्जालमा असन्तुष्ट व्यक्त गरेका छन् ।
साथै, लगानीकर्ताहरू पनि उनको अभिव्यक्तिमा थप डराएको देखिन्छ । परिसूचक घटेपनि कारोबार रकम बढ्नुले उनीहरू मूल्य घटेरै भएपनि सेयर बेच्न तयार भएको बुझिन्छ ।
सोमबारको परिसूचक २३०० बिन्दुभन्दा तल झरेको छ । परिसूचक एकैदिनमा ३.३६ प्रतिशत अर्थात ७९.२३ अंकले घटेर २२८२ बिन्दुमा अडिएको छ । दिनभरको कारोबारमा परिसूचक अधिकतम २३५१.९३ र न्यूनतम २२५९.५१ बिन्दुको बीचमा रहेको थियो ।
परिसूचक घटेको बजारमा कारोबार रकम भने बढीरहेको छ । सोमबार करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १८ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको सेयर मूल्य भने घटेको छ । आइतबार प्रतिकित्ता १४२१ रुपैयाँमा अन्तिम कारोबार भएको बैंकको सेयर सोमबार घटेर प्रतिकित्ता १३६६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५४.९० रुपैयाँले घटी हो ।
घटेको बजारमा पनि केही कम्पनीको सेयर मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सोमबारको बजारमा यूनिलिभरसहित ५ कम्पनीको सेयर मूल्य बढेको छ । सेयर मूल्य बढ्नेमा यूनिलिभर नेपाल, स्ट्याण्र्डड चार्टर्ड बैंक, माउन्टेन इनर्जी नेपाल, गोर्खाज फाइनान्स र बोटलर्स नेपाल (तराई) रहेका छन् । यी मध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको सेयर मूल्य ९.४७ प्रतिशतले बढेको छ । त्यस्तै, बोटलर्स नेपाल (तराई)को ५.४० प्रतिशतले बढेको छ भने बाँकीको ५ प्रतिशतभन्दा कमले बढेको छ ।
सोमबार ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । जसमध्ये सबैभन्दा बढी मूल्य घट्नेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता १६९३ रुपैयाँमा झरेको छ ।
बजारमा कारोबारमा आएका सबै समुह राताम्मे देखिएका छन् ।