काठमाडौं । बुधबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । सेयर मूल्य मापक नेप्से परिसूचकमा एकैदिन त्रिपल डिजिटको घटबढ देखिएको छ ।
कारोबार खुलेको केही समयमै उकालो लागेर अधिकतम २४९३.०७ बिन्दुमा पुगेको परिसूचक पछि घटेर न्यूनतम २३७९.०९ बिन्दुसम्म झरेको थियो । जुन ११३.९८ बिन्दुको उतारचढाव हो । अन्त्यमा बजार बन्द हुँदा परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशतले घटी हो ।
बुधबारको बजारमा ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत १८ दिनयताकै उच्च रकम हो । यसअघि गत मंसिर १२ गतेको बजारमा ५ अर्ब ८३ करोडको सेयर कारोबार भएको थियो । त्यसपछि यताको कारोबारमा भने सो मात्राको सेयर किनबेच भएको थिएन ।
त्यस्तै,सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको एकैदिन १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
घटेको बजारमा पनि सामलिङ् पावर कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४४४ रुपैयाँमा अन्तिम कारोबार भएको हो । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य क्रमशः ७.७८ र ७.७४ प्रतिशतले बढेको छ ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.३४ प्रतिशतले घटेको छ । र, अन्तिम कारोबार प्रतिकित्ता ११०० रुपैयाँमा झरेको छ ।
त्यस्तै, कारोबारमा आएका केही समूह हरिया देखिएका छन् भने केही समूह राता देखिएका छन् ।