काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारका बारेमा आफूले गरेको टिप्पणी सही भएको बताएका छन् ।
प्रचण्डले गत शनिवार आफ्नो पार्टीको प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै पुँजी बजार साम्राज्यवादको विस्तारित रुप भएको बताएका थिए । उनको सो भनाईपछि नेपालको सेयर बजारमा उच्च गिरावट आएको थियो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका थिए ।
‘माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु, आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् ।
उनले दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन सेयर होल्डर जनसमुदायसँग अनुरोध पनि गरेका छन् ।
प्रचण्डले सेयर बजारलाई साम्राज्यवादको विस्तारित रुप भनेपछि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई कुनै सेयर कारोबारीले चन्दा नदिएकोले ध्वस्त पारिदिन्छु भनेर सो टिप्पणी गरेका होला भनेका थिए ।
यस्तै, फरक प्रसंगमा प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रसँग आफूले कुनै सम्झौता नगरेको पनि बताएका थिए । एमाले अध्यक्ष ओलीले प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग ५ बुँदे सहमती गरेपछि तत्कालिन राजा ज्ञानेन्द्रले तानाशाही व्यवस्था लागू गरेका दाबी गरेका थिए ।
‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्काे नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन्, पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्, म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार