काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको छ । जुन ‘इन्ट्रा डे’ अर्थात दिनभरकै उच्च बिन्दु हो । र, अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतको वृद्धि हो ।
दिनभरको कारोबारमा परिसूचक निरन्तर रुपमा उकालो लागेको छ । कारोबार खुलेदेखि उकालोको यात्रा तय गरेको परिसूचकले कारोबार बन्द हुँदा उच्च बिन्दुमा पुगेको हो । मंगलबार परिसूचक न्यूनतम २३६०.३२ बिन्दुमा थियो ।
बजारमा २२६ वटा स्क्रिप्टको २ अर्ब ३८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । अघिल्लो दिन अर्थात सोमबारको बजारमा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार हिमालयन डिष्टिलरी, नबिल बैंक र एनटीसी तीन कम्पनीको १० करोडभन्दा माथिको सेयर कारोबार भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नबिलको १४ करोड १८ लाख र एनटीसीको १० करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यस्तै, धेरै समयपछि कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २०६.५८ बिन्दुले उकालो लागेको छ । त्रिपल डिजिटले उकालो लाग्नेमा विकास बैंक, उत्पादनमूलक र निर्जीवन बीमा समूह रहेका छन् । उता इन्भेष्टमेन्ट र म्युचुअल फण्ड सामान्य अंकले बढेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् ।
मंगलबार ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर अन्तिम कारोबार प्रतिकित्ता ३४१ रुपैयाँमा भएको छ । त्यस्तै, जानकी फाइनान्सको ९.८१ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले बढेको छ ।
सोमबार सकारात्मक सर्किट लागेको गोर्खाज फाइनान्सको सेयर मूल्यमा मंगलबार भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । र, अन्त्यमा संस्थाको सेयर मूल्य ८.८९ प्रतिशतले घटेर प्रतिकित्ता ९२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९०.३० रुपैयाँले घटी हो ।