काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । मंगलबार दोहोरो अंकले उकालो लागेको परिसूचक बुधबार पनि उच्च अंकले बढेर २५०० बिन्दु पार गरेको छ ।
कारोबार शुरु भएदेखि निरन्तर बढेको बजार कारोबार बन्द हुँदा ९२.१६ अंकले बढेर २५०७.७० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.८२ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा परिसूचक अधिकतम २५०९ र न्यूनतम २४२४ बिन्दुमा झरेको छ ।
मंगलबारको तुलनामा बुधबारको सेयर कारोबार ८९.८० प्रतिशतले बढेको छ । मंगलबार २ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार बढेर ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको भएको छ । एकैदिन २ अर्ब १४ करोड रुपैयाँले सेयर कारोबार बढेको हो ।
बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरीको कारोबार भएको छ । एकैदिन कम्पनीको ६८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयरधनीलाई लाभांश घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । सेयर कारोबारसँगै कम्पनीको सेयर मूल्य पनि ९.३८ प्रतिशतले बढेर प्रतिकित्ता ७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ६०० रुपैयाँले बढी हो ।
त्यस्तै, विभिन्न ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अपर तामाकोशी हाइड्रो र शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, स्वभिमान लघुवित्त वित्तीय संस्था, सगरमाथा इन्स्योरेन्स कम्पनी र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतभन्दा कम र ९.७४ प्रतिशतभन्दा बढीले बढेको छ ।
मंगलबारजस्तै बुधबारको बजारमा पनि कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।