काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ६६.६७ प्रतिशत बोनस र १०० प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित १६६ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा ११६ प्रतिशतले बढी हो । नेप्सेले अघिल्लो आर्थिक वर्षको नाफाबाट ५० प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र करसहित ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांशलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । नेप्सेले पुस २९ गते बिहान ११ बजे आफ्नै कार्यालयमा ४०औं वार्षिक साधारणसभा आव्हान गरेको छ । उक्त सभामा जान कम्पनीले आगामी पुस १८ गते बुक क्लोज गर्दै छ ।
हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ । ६६.६७ प्रतिशत बोनस सेयर पछि नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ ।