परिसूचक घट्दा सेयर कारोबार बढ्यो, सबैभन्दा बढी नबिल बैंकको

<p>काठमाडौं । सोमबारको बजारमा करेक्सन देखिएको छ । आइतबार ७१.२० अंकले बढेको बजार सोमबार ६९.७७ अंकले घट्न पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६९ प्रतिशतले घटेर २५२१.६५ बिन्दुमा झरेको छ । बजारमा परिसूचक घटेपनि सेयर कारोबार भने बढेको छ । आइतबार ५ अर्ब १७ करोडको सेयर कारोबार भएको बजारमा सोमबार ५ अर्ब ६० करोडको [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा करेक्सन देखिएको छ । आइतबार ७१.२० अंकले बढेको बजार सोमबार ६९.७७ अंकले घट्न पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६९ प्रतिशतले घटेर २५२१.६५ बिन्दुमा झरेको छ ।

बजारमा परिसूचक घटेपनि सेयर कारोबार भने बढेको छ । आइतबार ५ अर्ब १७ करोडको सेयर कारोबार भएको बजारमा सोमबार ५ अर्ब ६० करोडको सेयर किनबेच भएको छ । बजारमा २३८ वटा स्क्रिप्टको १ करोड २ लाख ९२ हजार कित्ता सेयर किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३० करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता १४९९ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटी हो ।

घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको हो । सोमबार यी दुई कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८७६.७० र १२१ रुपैयाँमा भएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य भने सबैभन्दा बढीले घटेको छ । कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता ३०० रुपैयाँमा झरेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको सेयर मूल्य ८.२१ प्रतिशतले घटेर प्रतिकित्ता ३०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बजारमा कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ६१८ अंकले ओरालो लागेका छन् ।

Share News