काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बुक विल्डिङ प्रक्रियाबाट साधारण सेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीको साधारण सेयर निष्काशन गर्ने र पुँजी वृद्धि गर्ने प्रस्तावसहित कम्पनीले माघ ५ गते २३औं बार्षिक साधारण सभा गर्न लागेको छ ।
सबै प्रक्रिया पुरा गरेर सेयर सार्वजनिक निष्काशन गर्न अझै एक वर्ष समय लाग्ने कम्पनीका अध्यक्ष पशुपति मुरारकाले बताए ।
बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्न कम्पनी पब्लिक भएको एक आर्थिक वर्ष पूरा अवधिको वार्षिक प्रतिवेदनसहित प्रक्रियामा जानुपर्ने हुन्छ । अर्घाखाँची सिमेन्ट पुरानो कम्पनी भए पनि गत वर्ष मात्र पब्लिक लिमिटेडमा रुपान्तरित भएको हो ।
कति रकम बराबरको सेयर निष्काशन गर्ने भन्ने निर्णय साधारणसभाबाट हुने कम्पनीका अध्यक्ष मुरारकाले बताए । कम्पनीको हाल चुक्ता पुँजी ७७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले नगद लाभांश वितरण गर्दैछ ।
नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिबाट साधारण सेयर निष्काशन गर्ने व्यवस्था गरेपछि पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको थियो । तर त्यो प्रक्रिया विवादमा परेपछि कुनै पनि कम्पनीले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गरेका छैनन् ।