काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबारमा पनि निरन्तर सुधार देखिएको छ ।
आइतबारको बजारमा ९ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन भदौ यताकै उच्च कारोबार हो । भदौ २१ गतेको बजारमा ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबारको बजारमा लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीको सेयरमा झुम्मिएका छन् । सो दिन कारोबारमा आएकामध्ये अरुण भ्याली हाइड्रोपापवर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको अपि पावर कम्पनीको ३० करोड ४४ लाख, अप्पर तामाकोशी हाइड्रोपावरको २९ करोड ७४ लाख र शिवम् सिमेन्टको २६ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेप्से परिसूचकले पार गर्यो २९०० को बिन्दु, डेढ घण्टामै पौने ४ अर्बको कारोबार
बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढेको छ । जुन भदौ २९ गतेदेखि यताकै उच्च बिन्दु हो । उक्त दिनको कारोबारमा नेप्से परिसूचक २९२९.२८ बिन्दुमा थियो । त्यसयताको कारोबारमा भने परिसूचकले २९०० को बिन्दु पार गर्न सकेको थिएन ।
त्यस्तै, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ । त्यस्तै, मध्य भोटेकाशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशतले बढेर ४१७.१० रुपैयाँ र किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १६८१ रुपैयाँ पुगेको छ ।
आइतबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये उत्पादनमूलक समूह सबैभन्दा बढी अर्थात ४०९.८२ अंकले बढेको छ ।
यसकारण बढ्दै छ सेयर बजार
कोरोना संक्रमणमा उच्च बढोत्तरीसँग सेयर बजारमा उछाल देखिएको छ । बैंकमा व्याजदर वृद्धिपछि ओरालो लागेको सेयर बजार अहिले बैंक व्याजदर स्थीर हुँदा पनि सेयरको मूल्य बढेको छ । फरक यत्ति छ त कोरोना महामारी बढ्दैछ । यसअघि पनि कोरोना महामारी र बन्दाबन्दीको बेलामा सेयर बजारमा उछाल आएको थियो । अहिले पनि लकडाउनको सम्भावना छ । दैनिक ५ हजार भन्दा बढी नेपालीको कोरोना संक्रमण छ । लकडाउन भयो भने मानिसहरु फेरि घर भित्र थुनिन्छन् । फुर्सदिला हुन्छन् र सेयर बजारमा झुमिन्छन् ।