काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर दोस्रो बजारमा किनबेच गर्न पाइने भएको छ । कम्पनीको सेयर आज (माघ ३ गते) सोमबारदेखि दोश्रो बजारमा किनबेच गर्न मिल्ने भएको हो ।
कम्पनीको सेयर गत तीन महिनापछि मात्रै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । गत असोजमा बाँडफाँड भएको कम्पनीको आईपीओ माघ २ गते मात्रै नेप्सेमा सूचीकरण भएको हो ।
कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत असोज ११ देखि १४ गतेसम्म २८ लाख कित्ता सेयर सर्वसाधारणको लागि (आईपीओ) जारी गरेको थियो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको पहिलो कारोबार न्यूनतम ८४.०५ देखि २५२.१५ रुपैयाँको बीचमा गर्न मिल्ने भएको छ । नेप्सेले कम्पनीलाई उक्त ओपनिङ रेन्ज तोकिदिएको हो । साथै, कारोबारको लागि कम्पनीको नेप्से सिम्बोल ‘बीएनएचसी’ तोकिएको छ ।