काठमाडौं । सोमबारको नेप्से परिसूचक एक सय बिन्दुले ओरालो लागेको छ । बिहान कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक अन्ततः ९९.८६ बिन्दु अर्थात ३.४२ प्रतिशतले घटेर २८२०.६५ बिन्दुमा झरेको हो ।
बजारमा परिसूचकले कारोबार खुलेदेखिनै ओरालोको बाटो तय गरेको थियो । अधिकतम २९२६.२१ बिन्दुमा पुगेको परिसूचक न्यूनतम २८०३.७२ बिन्दुसम्ममा झरेको थियो ।
परिसूचक उच्च अंकले ओरालो लागेको बजारमा कारोबार रकममा भने वृद्धि भएको छ । एकैदिन ८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८५ करोड रुपैयाँले घटी हो । आइतबारको बजारमा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको थियो ।
बजारमा एनआईसी एशिया बैंकसहित तीन कम्पनीको ३० करोड भन्दा माथिको सेयर कारोबार भएको छ । जसमध्ये अपि पावरको सबैभन्दा उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यस्तै, उच्च कारोबारको दोश्रो स्थानमा रहेको एनआईसी एशियाको ३६ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भने ३० करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेञ्चुरी अंकले घटेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.८२ प्रतिशतले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ३७.४० रुपैयाँले घटेर प्रतिकित्ता ४४०.६० रुपैयाँमा झरेको छ ।
बजारमा जम्मा ८ वटा स्क्रिप्सको मूल्य बढेको छ । जसमध्ये वीन लघुवित्त वित्तीय संस्था र बुद्धभूमी नेपाल हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागको छ । यससँगै वीन लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १००५.५० रुपैयाँ र बुद्धभूमी नेपालको प्रतिकित्ता ३८२.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ५६९.७९ बिन्दुले ओरालो लागेको छ ।