काठमाडौं । बिहीबारको सेयर बजारमा कारोबार रकममा वृद्धि भएको छ । बजारमा एकैदिन २ अर्ब रुपैयाँ बढीले सेयर कारोबार रकम बढेको छ । गत मंगलबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएकामध्ये अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ८२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपि पावर र तेश्रोमा शिखर इन्स्योरेन्स रहेको छ । अपिको ५२ करोड ५० लाख र शिखरको २६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३० प्रतिशत हकप्रद सेयरको लागि सेयर किन्ने आज अन्तिम दिनभएसँगै शिखरको कारोबार रकममा वृद्धि भएको हो ।
केहि दिनदेखि निरन्तर सर्किट लागेको विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा आज पनि सर्किट लागेको छ । यससँगै यी दुई संस्थाको सेयर मूल्य क्रमशः प्रतिकित्ता १९५९.२० रुपैयाँ र ७४४ रुपैयाँ पुगेको छ ।
बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने दोहोरो अंकले घटेको छ । गत मंगलबारको तुलनामा परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशतले घटी हो । त्यस्तै, कारोबारमा आएकामध्ये हाइड्रोपावर र निर्जीवन बीमा समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे छन् ।
बिहीबार आरएमडीसी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ३.४९ प्रतिशतले घटेर प्रतिकित्ता १२६० रुपैयाँमा झरेको छ ।