काठमाडौं । आइतबारको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । कारोबार खुलेदेखि ओरालोको बाटो तय गरेको बजारले दिनभर निरन्तर रुपमा घटेको हो ।
सेयर मूल्य मापक नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा १.४१ प्रतिशतले घटी हो ।
परिसूचकसँगै कारोबार रकम पनि पौने ३ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो कारोबारमा ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ५ अर्ब ८३ करोड रुपैयाँमा सीमित छ । जुन २ अर्ब ७८ करोड रुपैयाँले घटी हो ।
आइतबार सबैभन्दा बढी अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ५९९ रुपैयाँ पुगेको छ ।
बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ५८०.५९ अंकले घटेको छ ।
त्यस्तै, आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएका १९१ कम्पनीमध्ये (स्क्रिप्सबाहेक) १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ । र, बाँकी ३ कम्पनीको सेयर मूल्य भने गत बिहीबारको तुलनामा स्थिर छ ।
सेयर मूल्य बढ्नेमध्ये नेपाल हाइड्रो डेभलपर्सको सबैभन्दा बढी प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ८.०८ प्रतिशतले बढेर प्रतिकित्ता ५७५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, निरन्तर सेयर मूल्य बढीरहेको विन नेपाल लघुवित्तको सेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर मूल्य एकैदिन १९५.९० रुपैयाँले घटेर प्रतिकित्ता १७६३.३० रुपैयाँमा झरेको छ ।