काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा आवेदन दिने म्याद सकिएको छ । माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओको बिक्री माघ २५ गते बन्द भएको हो ।
सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) का अनुसार उक्त आईपीओमा २६ लाख ५९ हजार ५४० जनाले कूल ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । उनीहरुले ३ करोड २५ लाख २० हजार ५८० कित्ता सेयर माग गरेका हुन् । यो तथ्यांक माघ २५ गते अपरान्ह ५ बजेसम्मको हो । यसमा थप बढ्न सक्ने सिडिएससीले जनाएको छ ।
उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा ६६.६५ गुणा बढी हो भने हालसम्मकै नयाँ रेकर्ड हो । संस्थाले सर्वसाधारणमा ४ लाख ८७ हजार ९०० कित्ता सेयर माग गरेको थियो ।
लघुवित्तले सर्वसाधारणलाई सहित कूल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरिरहेको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको छ ।
त्यस्तै, आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । संस्थाले आईपीओ निष्काशनका लागि इक्रा रेटिङ्ग नेपालबाट इक्रा एनपी आईआर डबल बि रेटिङ्ग पाएको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल १० करोड ७८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँडपश्चात १६ करोड रुपैयाँ नाघ्ने छ ।