काठमाडौं । बुधबारको सेयर कारोबार करिब साढे ३ अर्ब रुपैयाँमा खुम्चिएको छ । मंगलबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ३ अर्ब ४७ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको हो ।
जुन अघिल्लो दिनको तुलनामा २ अर्ब ८१ करोड रुपैयाँले घटी हो । कारोबार घटेको बजारमा पनि अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्लो केही दिनयता कम्पनीको दैनिक रुपमा सर्वाधिक रुपमा सेयर किनबेच भइरहेको छ ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी छ । कम्पनीको एकैदिन १४ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ । बुधबारको परिसूचक २२.०६ अंकले घटेर २८१३.५२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशतले घटी हो ।
बुधबार कमाउनेभन्दा गुमाउने बढी छन् । सर्वाधिक कमाउनेको शीर्ष स्थानमा देखिएको लिबर्टी इनर्जीको सेयर मूल्य ३.०८ प्रतिशतले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिसेयर १२ रुपैयाँल घटी हो । र, यता सबैभन्दा बढी सेयर मूल्य घट्नेमा बुद्धभूमि हाइड्रोपावर रहेको छ । संस्थाको सेयर मूल्य ६.६४ प्रतिशतले घटेर प्रतिकित्ता ६८६ रुपैयाँमा झरको छ