काठमाडौं । आइतबारको सेयर बजार ‘ट्रिपल डिजिट’ अर्थात तेहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको बजार अन्त्यमा १००.६७ बिन्दुले घटेर २७००.८९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.५९ प्रतिशतले घटी हो ।
परिसूचक घटेको बजारमा कारोबार रकम भने २ अर्ब १५ करोड रुपैयाँले बढेको छ । गत बिहीबार ३ अर्ब ८२ करोडको कारोबार भएको बजारमा आइतबार ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा सबैभन्दा बढी अपर तामाकोशीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३२ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको हाइड्रोको सेयर मूल्य पनि अन्य कम्पनीको तुलनामा सर्वाधिक प्रतिशतले घटेको छ ।
हाइड्रोको सेयर मूल्य एकैदिन ८.३७ प्रतिशतले घटेर प्रतिकित्ता ६४६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ५९ रुपैयाँले घटी हो । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य ८.२६ प्रतिशतले घटेर प्रतिकित्ता ५०० रुपैयाँमा झरेको छ ।
आइतबारको बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । १३ समूहमध्ये जीवन बीमा समूह सबैभन्दा बढी ६०४.८८ अंकले घटेको छ ।
त्यस्तै, बजारमा २२७ वटा स्क्रिप्सको कारोबार भएको छ । जसमध्ये १९१ कम्पनी रहेकोमा कुनै पनि कम्पनीको सेयर मूल्य बढेको छैन । त्यस्तै, कारोबारमा आएका ३६ स्क्रिप्समध्ये ५ वटा स्क्रिप्सको भने भाउ बढेको छ । जसमा सबै म्युचुअल फण्ड रहेका छन् । एनआईबिएल समृद्धि फण्ड २, सनराइज ब्लुचिप फण्ड, नबिल ब्यालेन्सड फण्ड ३, मेगा म्युचुअल फण्ड १ र लक्ष्मी उन्नति कोषको इकाई मूल्य गत बिहीबारको तुलनामा बढेको हो । जसमध्ये सबैभन्दा एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य १.९४ प्रतिशतले बढेर प्रतिइकाई ९.४८ रुपैयाँ पुगेको छ भने सबैभन्दा कम प्रतिशतले बढ्नेमा लक्ष्मी उन्नति कोष रहेको छ । जसको मूल्य प्रतिइकाई १०.३० रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाले एकाएक निक्षेपको व्याजदर बढाएसँगै त्यसको नकारात्मक प्रभाव सेयर बजारमा परेको हो । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको व्याजदर १० प्रतिशतले बढाएका हुन् ।
सम्बन्धित समाचार