काठमाडौं । लगानीकर्ताहरुले सेयर बजारको नियामक निकायले बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार गरेको महशुस गरेका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्षले सरोकारवाला र नियामक निकायले समय समयमा लिने नीति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार गरेको बताएकी हुन् ।
बैंक तथा वित्तीय संस्थाले एकाएक निक्षेपको व्याजदर बढाएसँगै उनले सामाजिक सञ्जालमा सो विचार व्यक्त गरेकी हुन् । बैंकहरुले फागुन १ गतेदेखि नै लागू हुने गरी व्याजदर बढाएका हुन् जसको नकारात्मक प्रभाव सेयर बजारमा परेको र एकैदिन एक सय बिन्दुले बजार घट्न पुगेको छ ।
साथै, लगानीकर्ता पोखरेलले बजारमा थुप्रै चुनौति हुने भएकाले त्यसलाई सामना गर्दै धैर्यता नगुमाउन लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् ।
‘सरोकारवाला र नियामक निकायले समय समयमा लिने निति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार गरेको जस्तो लाग्न थालेको छ । जहाँ अवसर हुन्छ, त्यहाँ चुनौती अवश्य हुन्छ । सेयर बजारलाई जती अवसरको खानीको रुपमा लिइन्छ, त्यसमा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामीले बिर्सनु हुँदैन । सेयर बजारलाई कतातिर डोहोर्याउने भन्ने कुरा लगानिकर्ताको मनोविज्ञानले नै तय गर्ने विषय हो । सबै लगानीकर्ता मित्रहरुले धैर्यता नगुमाउँनु होला र संयमका साथ जोखिम हेर्दै कारोबार गर्नुहोला,’ उनी लेख्छिन् ।