काठमाडौं । आइतबारको सेयर कारोबार पौने २ अर्ब रुपैयाँले बढेको छ । गत बिहीबारको तुलनामा आइतबारको कारोबार रकम १ अर्ब ८१ करोड रुपैयाँले बढेको हो ।
गत बिहीबार २ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ४ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २३० वटा स्क्रिप्स कारोबारमा आएकामध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी कारोबार भएको छ । संस्थाको एकैदिन ५८ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
संस्थाले बम्पर लाभांश घोषणा गरेसँगै संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश घोषणा गरेको पहिलो दिनको कारोबारमा संस्थाको सेयर मूल्य ३.४९ प्रतिशत अर्थात १७३ रुपैयाँले बढेर प्रतिकित्ता ५ हजार १३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यूनाईटेड इदी मार्दीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । संस्थाको सेयर मूल्य ६९ रुपैयाँले बढेर प्रतिकित्ता ७५९ रुपैयाँमा कारोबार भइरहेको छ ।
कारोबार रकम बढेको बजारमा नेप्से परिसूचक भने घटेको छ । परिसूचक ३९.४० अंकले घटेर २६९३.१० बिन्दुमा झरेको छ ।
बजारमा सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ४.७४ प्रतिशतले घटेर प्रतिकित्ता ५२१ रुपैयाँमा झरेको छ । त्यस्तै, अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।