काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । देशभर एकै चरणमा हुने भनिएको यो निर्वाचन २०७२ सालमा नयाँ संविधान जारी भएपछिको दोस्रो हो ।
स्थानीय तहको पहिलो निर्वाचन विसं २०७४ वैशाख ३१, असार १४ र असोज २ गते भएको थियो । गाउँगाउँमा सिंहदरबार आउने र आफूहरुका दैनिक समस्या समाधानमा स्थानीय सरकारले सहयोग गर्ने अपेक्षा स्थानीयको थियो ।
चुनावको बेलामा उम्मेदवारले गरेको वाचा र जनताले गरेको अपेक्षा अनुसार के कति काम भए भन्ने समीक्षाको बेग्लै पाटो हो । तर, चुनावको बेलामा भोट माग्न जाँदा उम्मेदवारहरुले जतापनि रेल कुदाई दिन्छु भनेका थिए । बाटो पीच गरिदिने, खानेपानीको व्यवस्था मिलाई दिने, गज्जवको स्कुल बनाउने, रोजगारी दिलाइदिने जस्ता जुन जुन ठाउँमा जे दिन्छु भन्दा भोट आउने थियो, त्यही भनेर चुनाव जितेका थिए ।
चुनाव फेरि नजिकिएको छ । स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिन लागेको छ । यही सन्दर्भमा हामीले प्रदेश १ का विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई उनीहरुले आफ्नो कार्यकालमा के काम गरे भनेर सोधेको थियौंै ।
प्रदेशका १ मा एक सय ३७ वटा स्थानीय तह छन् । तीमध्ये ४६ वटा नगरपालिका रहेका छन् । सो नगरपालिकाका जनप्रतिनिधिहरूले यो ५ वर्ष भित्रमा नागरिकका आवश्यकता पुरा गर्न सके–सकेनन् तथा उनीहरुले आफ्नो पालिकामा के काम गरेत भन्ने विषयमा केन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं ।
आफू निर्वाचित भएर आएपछि नगरपालिकाभित्र पूर्वाधार विकासमा उदाहरणीय काम गर्न सफल भएको झापा जिल्लाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शर्मा बताउँछन् ।
आफू निर्वाचित भएर आएपछि नगरपालिमा भित्र ४५ किलोमिटर सडकको कालोपत्रे भएको उनले बताए । । उनका अनुसार ४ ट्रंक रोड र यसभित्र पर्ने कल्बटको पनि निर्माण सम्पन्न भएको छ भने नगरपालिकाभित्र पर्ने रिङरोडको ५० प्रतिशत कालोपत्रे भइसकेको छ ।
उक्त सडकको निर्माण गरी नागरिकको घरघरसम्म सडकको सञ्जाल पुर्याउन सफल भएको शर्माले दाबी गरे ।
‘हाम्रो नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरू छन्, उक्त विद्यालयमा आवश्यक पर्ने भवनहरूको निर्माण गरिसकेको छौं, अब नगरपालिकामा अहिले नै विद्यालयको भवनको आवश्यकता छैन,’ उनले भने ।
नगरपालिकाले शैक्षिक सुधारका कार्यक्रम पनि संचालन गर्दै आएको छ । सुधारकै कारण सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो क्रममा रहेको मेयर शर्माको भनाई छ ।
सो नगरपालिकामा ११ वटा वडा छन् । प्रत्येक वडामा आधारभूत स्वास्थ्यका भवनहरू निर्माण गरिएको छ । नगरपालिकाले बनाउन लागेको २५ शैयाको अस्पताल निर्माणाधीन अवस्थामा छ ।
नगरपालिकाले कृषकलाई कृषि औजार खरिदमा ५० प्रतिशत अनुदान दिने गरेको छ ।
भद्रपुर नगरपालिका झापाकै अर्काे स्थानीय तह हो । नगरपालिकाले पूर्वाधार विकासमा फड्को मारेको नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ बताउँछन् ।
नगरप्रमुख श्रेष्ठका अनुसार यो ५ वर्षको अवधिमा विभिन्न ठाउँहरूमा सडक सञ्जाल विस्तार, नागरिकको आर्थिक उन्नति तथा शिक्षा, स्वास्थ्य तथा खानेपानीको पहुँच गाउँ गाउँमा पुर्याउनका लागि पालिका सफल भएको छ ।
यही अवधिमा सो नगरपालिकाभित्र ६ वटा स्वास्थ्य चौकीहरु निर्माण भएको र केही पुराना नै स्वास्थ्यका भवनहरू मर्मत संम्भार गरेको श्रेष्ठले दाबी गरे ।
‘हामीले नगरपालिकामा ई–हाजिरी प्रणाली व्यवस्थापन गरेका छौं, नगरभित्र ३२ वटा सरकारी विद्यालय छन्, ती प्रत्येक विद्यालयमा इन्टरनेटको व्यवस्था गर्नुको साथै सृजनशील विद्यार्थीहरूको संठन बनाई विद्यार्थीलाई सहजीकरण गरेको छौं, प्रत्येक विद्यालयमा एउटा भौतिक संरचनाको निर्माण गरेका छौं,’ उनले भने ।
कृषि, पर्यटन, स्वास्थ्य, सञ्चार, यातायात लगायत जनताको दैनिक आवश्यकतासँग जोडिएका विकास निर्माणलाई भद्रपुर नगरपालिकाले विभिन्न सूचकको आधारमा विकास गरिरहेको नगर प्रमुख श्रेष्ठले बताए ।
‘हामीले नगरपालिकामा १५ वर्षीय गुरुयोजनाको तयार गरेका छौं, उक्त योजनामा नगरपालिकाको समग्र क्षेत्रलाई समेटेका छौं, विभिन्न विषयको विज्ञहरूको सेवा खरिद प्रक्रियाद्वारा यो योजना तयार भएको हो, नगरपालिकाको अगामी दिनको मार्ग प्रदर्शन गर्नको लागि गुरुयोजनाको तयार पारेको हौं,’ उनले भने ।
उनका अनुसार नगरपालिकाले २ सय करोड रुपैयाँको बजेटमा लगभग एक सय ८१ किलोमिटर सडकको कालोपत्रे गरेको छ । मेची लोकमार्गको चारआलीबाट हिमालीसम्म करिव १४ किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै, मेचीपुलबाट रंगेडाँडा हुँदै भद्रपुरको सिमाना देउने नदीसम्म ४ किलोमिटर सडकको कालोपत्रे भएको छ । नगर पूर्वाधार योजना अन्तर्गत १० देखि १५ लाख रुपैयाँसम्मको बजेटमा कालोपत्रे भएको सडक १५ किलोमिटर छ ।
नगरपालिकाको १, २, ३ र ४ नं. वडामा धमाधम नमुना मार्गको निर्माण भइरहेको छ । यो पनि कालोपत्रेको सुरुवातमा रहेको तथा यस वर्ष नगरपालिकाभित्र अधिकांश सडकहरू कालोपत्रे हुने श्रेष्ठले जनाए ।
झापाकै अर्जुनधारा नगरपालिका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको घर रहेको स्थानीय तह हो । झापाको अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना करिब ५ वर्षको अवधिमा पालिकाको नीति निर्माण, योजना, कार्यक्रम तथा आयोजनाको सफल कार्यान्वयनका साथै विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाउन अनुगमन तथा मूल्याङ्कनको काममा नगरले महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन् ।
मेयर रानाका अनुसार प्रतिवर्ष कुल बजेटको ८० प्रतिशत बजेट पूर्वाधार विकासमा नगरले छुटाएर विकास निर्माणमा काम भएको छ ।
‘हालसम्म लगभग २ सय ५० भन्दा बढी बाटोलाई ग्राभेल गरेका छौं, नगरको आन्तरिक स्रोतबाट नै यस वर्षसम्म ३० किलोमिटर सडक कालोपत्रेको गर्ने योजना छ, स्वास्थ्य तथा शिक्षामा पनि उल्लेख्य काम गरेका छौं,’ उनले भने ।
प्रत्यके वडामा ४२ देखि ४५ किलोमिटर धुलौटे बाटोलाई ग्राभेल गरी करिव ६ सय किलोमिटर सडकको ग्राभेल गर्न सफल भएको रानाले बताए । नगरपालिकाले हलासम्म सडक क्षेत्रको प्रगति बारे यही फागुन ३० गते सार्वजनिक गर्ने योजनामा छ ।
यस्तै, उनले यो अवधिमा अर्जुनधारा नगरपालिकालाई रमणीय र धार्मिक सहरको रूपमा नगरलाई विकास गर्नको लागि योजना बनाएको बताउँदै विभिन्न ठाउँमा धामिर्क स्थललाई पुनर्निर्माण पनि ध्यान दिने बताए ।
उनका अनुसार यो वर्षभित्र ८ वटै वडाको वडा भवन निर्माण सम्पन्न गर्ने तयारी रहेको पनि छ ।
‘निर्वाचित भएर आएपछि ७ वटा स्वास्थ्यचौकीका भवनहरू निर्माण गरेका छौं, नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नहुने अवस्था सिर्जना गरेका छौं, हाम्रो नगरपालिकामा मात्र नभएर छिमेकी पालिकाले पनि हाम्रै स्वास्थ्य सेवाको सुविधा लिइरहेका छन्,’ उनले भने ।
मेयर रानाले नगरले कृषि क्षेत्रमा जति काम गर्ने योजना बनाएको थियो सोही अनुरूप भने काम नभएको बताए ।
‘हाम्रो नगर खेतीमा आधारित नगर हो, यहाँका धेरै युवाले कृषिमा आधारित नै रोजगार पाएका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम पनि अगाडी बढायौं तर, खासै प्रभावकारी परिणाम देखिएन,’ मेयर रानाले भने ।
सुर्याेदय नगरपालिका इलाम जिल्लामा पर्छ । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा निकै चर्चित छ । आफूहरु निर्वाचित भएर आएपछि विकास निर्माणको काममा उत्कृष्ट काम गरेको नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराई बताउँछिन् ।
उनका अनुसार यस अवधिमा उपलब्ध स्रोत साधनको सीमाभित्र रहेर केही महत्वाकांक्षी तथा रूपान्तरणकारी योजनाहरू सम्पन्न भइसकेका छन् भने कतिपय योजनाहरू सम्पन्न हुने चरणमा रहेका छन् ।
‘नगरपालिकामा हामी निर्वाचित हुनुभन्दा अगाडी नै धेरै सडकको निर्माण भइसकेको थियो, त्यसले गर्दा हामीले नयाँ सडकको निर्माण गरिराख्नु परेन, सबै वडामा गर्दा ५० किलोमिटर सडक कालोपत्रे गर्न सफल भएका छौं भने बजारी क्षेत्रमा पिच गर्ने काम पनि अगाडि बढाएका छौं,’ उनले भनिन् ।
शिक्षा क्षेत्रमा निकै राम्रो प्रगति गर्न सफल भएको उपप्रमुख भट्टराई दाबी गर्छिन् । भौतिक पूर्वाधारको निर्माण गरी शैक्षिक क्षेत्रलाई सुधार गर्नेभन्दा पनि शैक्षिक गुणस्तरलाई सुधार गर्नेतर्फ नगरपालिकाका लागिपरेको छ । यो अवधिसम्ममा आफूहरुले ८ वटा विद्यालयको भवनको निर्माण गरेको र भएका संरचनाको संरक्षण गरी धुलोरहित कक्षाको रूपमा विकास गरेको पनि भट्टराईले जानकारी दिइनन् ।
नगरपालिकाले सबै वडामा स्वास्थ्य चौकीका भवनहरू निर्माण गरी सहज रूपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
‘नगरभित्र चियाको उत्पादन निकै हुने गरेको छ, यहाँका अधिकांश नागरिकले चिया खेती गर्दै आएका छन्, सो खेती गर्ने कृषकलाई कृषिको औजार पनि वितरण गरेका छौं, ८० प्रतिशत अनुदानमा उन्नत जातका गाई समेत वितरण गरेका छौं भने अहिले नगरपालिकामा आधुनिक तरिकाबाट कृषि खेती सुरु हुन थालेको छ, दुध उत्पादनमा नगरपालिका आत्मनिर्भर छ, दैनिक ६० हजार दुध नगरपालिका भित्रबाट निर्यात हुन्छ,’ उनले भनिन् ।
भोजपुर नगरपालिकामा पछिल्लो समय विकास निर्माणको कामले तीव्रता पाएको छ । भोजपुर नगरपालिकाल भोजपुर जिल्लाको सदरमुकाम पनि हो । नगरपालिकाले स्थानीय नागरिकको आवश्यकता र चाहनालाई संवोधन गर्दै काम गरिरहेको नगरपालिका मेयर कैलाशकुमार आलेले बताए ।
मेयर आलेका अनुसार निर्वाचित भएर आएपछि ११ किलोमिटर सडकको कालोपत्रे भएको छ । करिव २२ किलोमिटर सडकमा आरसीसी ढलान भएको गरी पालिकाको प्रत्येक वडा तथा टोलमा सडक सञ्जाल पुर्याउन सफल हुनुका साथै सडकको पहुँच बाहिर रहेका नागरिकले पनि हाल घर नजिकैबाट मोटर चढ्न पाएका छन् ।
कृषिमा नगरपालिकाले धेरै राम्रो काम गर्न सफल भएको मेयर आले दाबी गर्छन् । उनका अनुसार नगरपालिकाले किसान क्रेडिट कार्डमार्फत विनाधिता ५ लाखदेखि १० रुपैयाँसम्म ऋण नगरपालिकाले कृषकलाई उपलब्ध गराउँदै आएको छ ।
६९ करोड रुपैयाँको लगानीमा सदरमुकाम खानेपानी ल्याएर नागरिकलाई वितरण गरेको पनि आलेले बताए । नगरपालिकाले ७२ करोड रुपैयाँको लगानी गरी सहरी क्षेत्रमा ढलको काम गरिरहेको छ ।
‘शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं, नगरपालिकाको शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं, विद्यालयको कक्षा कोठामा स्मार्ट बोर्ड राखेर पढाउने काम पनि भएको छ, स्थानीय पाठ्यक्रमको विकास गरी आधुनिक शिक्षा प्रणालीलाई पनि ध्यान दिइरहेका छौं,’ उनले भने ।
यस्तै, सोलुखुम्बु जिल्ला अन्तर्गत पर्ने सोलु दुधकुण्ड नगरपालिका उच्च हिमाली जिल्ला हो । यही जिल्लाको पश्चिम दक्षिण दिशामा अवस्थित सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिका भौगोलिक विकटता भए पनि हाल विकास निर्माणको कामले पालिका धेरै माथि पुगेको नगरपालिकाकी उपप्रमुख कल्पना राई बत्ताउँछिन् ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, तथा पर्यटन लगायतका क्षेत्रमा उदाहरणीय काम गर्न सफल भएको पनि उनको दाबी छ । संघीय र प्रदेश सरकारसँग समन्वय गरी विकास निर्माणको काममा फड्को मार्न नगर सफल भएको राईले बताइन् ।
गर्भवतीका लागि निःशुल्क झुल तथा क्याल्सियम सप्लिमेन्टेसन, ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य संस्था सञ्चालन लगायतका कार्यक्रमहरू मार्फत स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्यानउने कार्यमा जोड दिइएको उनले बताइन् ।
‘हामी निर्वाचित हुनुभन्दा अगाडि यो नगरपालिका पूर्वाधार विकासमा निकै पछाडि थियो, निर्वाचित भएर आएपछि हामीले टोल टोलसम्म सडक सञ्जाल पुर्याएका छौं, कसैले पनि परिकल्पना नगरेको ठाउँमा पनि सडकको विस्तार गरी हरेक वडामा हाल बाह्रै महिना यातायात सञ्चालन हुन्छ,’ उनले भनिन् ।