सेबोन अध्यक्षको पहिलो पत्रकार सम्मेलनः ब्रोकरलाई चेतावनी, साना लगानीकर्तालाई आश्वासन

<p>काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले पहिलो पत्रकार सम्मेलनमा सेयर ब्रोकरलाई चेतावनी र साना लगानीकर्तालाई आश्वासन दिएका छन् । बोर्डको अध्यक्षमा हमाल नियुक्त भएपछि बोर्डले पहिलो पटक पत्रकार सम्मेलन गरेको हो । सो सम्मेलनमा बोल्दै अध्यक्ष हमालले अहिलेको व्यवस्था अनुसार काराबार भएको दुई दिनपछि (टि प्लस टु) [&hellip;]</p>

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले पहिलो पत्रकार सम्मेलनमा सेयर ब्रोकरलाई चेतावनी र साना लगानीकर्तालाई आश्वासन दिएका छन् ।

बोर्डको अध्यक्षमा हमाल नियुक्त भएपछि बोर्डले पहिलो पटक पत्रकार सम्मेलन गरेको हो । सो सम्मेलनमा बोल्दै अध्यक्ष हमालले अहिलेको व्यवस्था अनुसार काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिए ।

‘सेयर कारोबारमा टी प्लस टुमा सेटलमेन्ट (राफसाफ) भइसक्नु पर्ने व्यवस्था छ, त्यो बेलासम्ममा सेटलमेन्ट गरिसक्नु होस्, समयभित्र सेटलमेन्ट भएन भने तत्काल कारवाही हुन्छ,’ अध्यक्ष हमालले भने ।

यस्तै, उनले साना लगानीकर्ताको पक्षमा आफूले काम गर्ने पनि बताए । साना लगानीकर्ता ठगिने अवस्था आउनु नहुने भन्दै उनले लगानीकर्ताले दिएको रकम ब्रोकरले अन्तै लगानी गर्न नहुने पनि बताए ।

उनले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अन्तराष्ट्रिय अभ्यास रहेको भन्दै नेपालमा पनि यसलाई प्रभावकारी कार्यान्वयन गर्ने जानकारी दिए । धेरै नाफा गरेका कम्पनीहरु अंकित मूल्यमा नआउने र त्यसको लागि बुक विल्डिङ विधि नै सबैभन्दा प्रभावकारी हुने उनको विश्लेषण छ ।

अध्यक्ष हमालले धेरै नाफा कमाउने वास्तविक क्षेत्रका कम्पनीहरुलाई बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा भित्र्याउने दाबी पनि गरे । बजारमा हुने गरेका भित्री कारोबार लगायतका विकृति रोक्ने भन्दै उनले बजारलाई सहयोग पुग्ने गरी नयाँ नीति नियम र व्यवस्थाहरु आवश्यक भए आफूले सोको लागि पनि पहल गने प्रतिवद्धता जनाए ।

Share News